काठमाण्डौ उपत्यकामा आज छिटपुट वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पूर्वतर्फ सर्दै गएको र यसको प्रभावले काठमाण्डौमा पनि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिम क्षेत्रमा भने कतै वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । ती क्षेत्रमा गएरातिदेखि नै वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल पूर्वतिर सरिरहेको र पूर्वी पहाडी जिल्लाका केही ठाउँमा आज दिउँसो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुनेछ । भोलिदेखि भने मौसम सुधार हुने मौसमविद्को भनाइ छ ।
यसैबीच हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा ठूलो हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया