चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

गएको हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गर्नुभएको छ, भने शुल्क घटाउन सहमत हुनुभएको थियो । त्यतिबेला ट्रम्पले यो कदमलाई सकारात्मक रूपमा लिनुभएको थियो । तर कार्नीले डाभोसमा एक भाषणमा अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्था ध्वस्त भएको बताएपछि पछिल्ला दिनमा अमेरिका र क्यानडाबीच फेरि तनाव बढेको छ ।

कार्नीले अन्य मध्यम शक्तिहरूलाई पनि ठूला शक्तिहरूद्वारा आर्थिक जबरजस्तीको सामना गर्न एकताबद्ध हुन आग्रह गर्नुभएको थियो । ट्रम्पले त्यसको भोलिपल्ट त्यो टिप्पणीको जवाफ दिँदै क्यानाडा अमेरिकाको कारणले बाँचिरहेको बताउनुभएको थियो । ट्रम्पले आफ्नो नयाँ शान्ति बोर्डमा सामेल हुन क्यानडालाई दिएको निमन्त्रणा पनि फिर्ता लिनुभएको छ ।