चुनावी प्रचारको चटके शैली : ऋषि धमला सबैभन्दा अघि


मनोनयन दर्ता सकेपछि उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् । कोही पहिलोपल्ट आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् भने कसैले चाहिँ वर्षौंपछि मुख देखाउँदैछन् । नेता, कार्यकर्ता भोट माग्दै गाउँबस्ती पसेपछि चुनावी उत्साह बढेको छ । कतिपय उम्मेदवारको भोट माग्ने शैली रोचक र चटके खालको छ । 

यसअघिको चुनावमा केही उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँगै जानी नजानी धान काट्ने र मकै गोड्ने काम गरेका थिए । कसैले चाहिँ गाईभैंसीको गोठमै पुगेर दूध दुहेको र गोबर सोहोरेको पनि देखिएको थियो । यसपालिको चुनावमा धान काट्ने र मकै गोड्ने सिजन छैन । उम्मेदवारहरु गाईभैंसीको गोठसम्म पुग्न भ्याएका पनि छैनन् । त्योभन्दा रोचक र चटके शैली चाहिँ सडक र सामाजिक सञ्जालमा देखिन थालिसकेको छ । 

चुनावी प्रचारको यस्तो चटके शैलीमा पूर्वपत्रकारसमेत रहेका आम जनता पार्टीका उम्मेदरवार ऋषि धमला सबैभन्दा अगाडि देखिएका छन् । रौतहट–४ बाट उम्मेदवारी दिएका धमलाले पत्रकारिता गरेको बेलाकोजस्तै चटपटे शैली मिसाएर मान्छे हँसाइरहेका छन् । कहिले स्थानीय होटलमा पसेर जुलेबी पकाउन खोज्दै गरेको देखिन्छ त कहिले काठ मिलमा पुगेर सिकर्मी बन्दै गरेको । भिडियोमा उनी काठ मिलमा पसेर हाते आरोले काठको टुक्रा चिर्न तम्सिएका देखिन्छन्, तर आरो बाँगो जान थालेपछि असिनपसिन हुँदै उठ्छन् । अनि नजिकै रहेका एकजना युवा भन्दैछन्, ‘नेता हुनजस्तो कहाँ सजिलो छ र, काम गर्न त गाह्रो छ दाई ।’ धमलाले साइकल चढेको फोटो फेसबुकमा देखेपछि अर्काे एकजनाले लेखेका छन्, ‘उहाँलाई योपालि दशैँमा मामाघर गएर रमाइलो गरेजस्तो भाको छ !’

धमलाको चटके शैलाीलाई नुवाकोटका अर्का उम्मेदवार अच्युतम लामिछानेले पच्छ्याएका छन् । नुवाकोट–२ बाट रास्वपाका उम्मेदवार बनेका लामिछाने गलामा फूलको माला र पछिल्तिर राष्ट्रिय झण्डा ओढेर भोट माग्दै गरेको भिडियोमा देखिन्छ । अनि सडक छेउमा मान्छे देख्नेबित्तिकै उनी परैबाट हात उठाउँदै पुग्छन् । ‘नझुक्किनुहोला, छोरो आयो नाति आयो’ भन्दै हात जोड्दै सडकमै लम्पसार परेर ढोग्छन् । उनको शैली प्रत्यक्ष देख्नेहरु अनौठो मानेर हेर्दैछन् । सामाजिक सञ्जालमा भिडियो हेर्नेहरुले चाहिँ नयाँ जोगीको संज्ञा दिएका छन् । उम्मेदवारले सडकमै लम्पसार परेर ढोगेको भिडियो हेर्नेहरुको प्रतिक्रिया छ, ‘पहिले खुट्टा ढोग्छौ भोटको लागि, जितीहाल्यौ भने त्यो ढोगेको खुट्टा कसको भन्ने पनि चिन्दैनौ । हात मिलाउनु त परै जावस्, मुख समेत हेर्दैनौ ।’

चुनाव गराउने जिम्मेवारी छाडेर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महाविर पुनको प्रचार शैली चाहिँ अर्कै खालको छ । उनी पहिले फेसबुकमार्फत आफू फलानो ठाउँमा आउँदै गरेको जानकारी दिन्छन् । किताब पनि सँगै बोकेर पुग्छन् । मान्छेहरु जम्मा भएपछि भन्छन्, ‘भोट दिन मन लागे दिनु, मन नलागे नदिनु । मेरो किताब चाहिँ किनुदिनु ।’ पहिले किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए भनेर ठट्यौली प्रतिक्रिया दिने महावीर पुनले त्यस्तै ठट्यौली पाराको चुनावी प्रचार गरेर आकर्षण थपिरहेका छन् ।

अरू नेताहरुको चुनावी प्रचार शैली पनि आफ्नै खालको छ । सुरक्षित क्षेत्र खोज्दै यसपालि रुकुम पूर्व पुगेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेको दिन मयुर नाचमा कम्मर मर्काए । यसअघि प्रचण्डको साथ छाडेर अर्कै पार्टी खोलेका जनार्दन शर्माले रुकुम पुग्दा यसरी मयुर नाच नाचेको देखिन्थ्यो । जनार्दनको ठाउँमा पुगेपछि उनको शैली नपछ्याई मतदाता आकर्षित हुँदैनन् भनेर होला प्रचण्डले पनि जानी नजानी मयूर नाच नाचे । 

चुनावी प्रचार बल्ल शुरु भएकाले उम्मेदवारहरुका यस्ता नाचगान, ढोगभेट र चटके शैली अझै धेरै देखिन बाँकी छ ।