नेपाली राजनीतिमा छोटो समयमै छलाङ मार्ने नेतृ हुन् ओखलढुंगाकी अस्मिता थापा । उनले ३० वर्षको उमेरभित्रै ३ वर्षमा ६ छलाङ मारेकी छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थापा लगत्तै गाउँपालिका राष्ट्रिय महासंघ कोशीको सह सचिव बनेकि थिइन् ।
थापा २०८० चैत्रमा भएको एमालेको दशौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी उपसचिव निर्वाचित भइन् ।
पालिका उपाध्यक्ष र पार्टी उपसचिवको भूमिकामा रहँदा चर्चामा आएकी थापालाई पार्टीको पुषमा भएको एघारौं केन्द्रीय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि छनोटमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा उनी पराजित भइन् । प्रतिनिधि छनोटका लागि भएको निर्वाचन बहिस्कार गरेर हिँडेकी थापाले उक्त निर्वाचन अबैधाानिक भएकाले पुन: प्रतिनिधि छान्न केन्द्रबाट पत्र लेखाइन् र उनि सहितका केही नेताले प्रतिनिधि बन्ने अवसर पाएपछि सहमति गरेर प्रतिनिधि बनिन् ।
विवादका बीच महाधिवेशन प्रतिनिधि बनेकी थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।
उनै थापा अहिले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् ।
लिखु गाउँपालिकामा उपाध्यक्षको कार्यकाल बाँकी छँदै राजिनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेकी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्ने र ओलीले छोरी मान्ने थापालाई केन्द्रमा ‘बा’ को आशिर्वाद छ । केन्द्रमा सिधै ‘बा’ सँगको पहुँच देखाएर थापाले जिल्ला कमिटीको निर्णय प्रभावित पार्न थालेपछि जिल्लामा भने एमालेमा विवाद बढेको छ ।
जिल्लाबाट नाम सिफारिस नभएको व्यक्तिले टिकट ल्याएको भन्दै असन्तुष्टि जनाएर एमाले नेता अम्बिरबाबु गुरुङले विद्रोह गरेर नेकपाको तारा चिन्हबाट उम्मेदवारी दिइसकेका छन् ।
उम्मेदवार सिफारिस गर्न बसेको पार्टीको विस्तारित बैठकमा अतिथि बनेकी थापाले आफ्नो दावी नरहेको बताएकी थिइन् । तथापि जिल्लाबाट नाम नपठाइ केन्द्रको पहुँचबाटै टिकट हात पारिन् ।
पार्टी केन्द्रले आफुलाई टिकट दिने निर्णय गरेपछि चुनावमा होमिएको मनोनयनका क्रममा मन्तव्य दिँदै उनले बताइन् ।
थापाले आफ्नो उम्मेदवारीलाई जेनजी पुस्ताको साझा प्रतिनिधिका रुपमा उद्घोष गरेकी छन् । यद्यपी एमालेकै मत जोगाउन उनलाई ठुलो चुनौती छ ।
एउटै व्यक्तिले पहुँचका भरमा लगातार अवसर पाइरहने र पार्टीमा लामो समयदेखि योगदान गरेकाहरु पछि परिरहने अवस्था आएको भन्दै एमाले वृत्तमा विभिन्न कोणबाट बहस भईरहेका छन् ।

प्रतिक्रिया