नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेम आलेले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
डोटीबाट लगातार तीन पटक चुनाव जितेका आलेले यसपटक पार्टीको निर्देशन अनुसार आफू कैलाली झरेको बताएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई सांसद बन्ने रहर नभएको तर कैलालीको विकास र भ्रष्टाचार अन्त्यका लागि चुनावी मैदानमा आएको दाबी गरे। आले डोटीबाट २०७०, २०७४ र २०७९ सालमा लगातार निर्वाचित भएका थिए।
तर, अहिले पार्टी एकताको प्रक्रिया र पार्टीको निर्देशनलाई नकार्न नसकेर आफू कैलाली–५ मा आएको उनले बताए। डोटीका जनताले आफूलाई अपार माया दिएको र आफूले पनि त्यहाँ सम्झनालायक काम गरेको जिकिर गर्दै उनले यो आफ्नो बाध्यता भएको सुनाए।
आफूलाई ‘टुरिस्ट उम्मेदवार’ भनिएको विषयलाई आलेले सिधै खारेज गरे। उनले २०५४ सालमै कैलालीमा जग्गा किनेर घर बनाएको, छोराछोरीलाई यहीँको स्कुलमा पढाएको र विगत ३० वर्षदेखि यहाँ बसोबास गर्दै आएकोले आफू बाहिरको मान्छे नभएको तर्क गरे।
आलेले आफ्नो मुख्य एजेन्डा विकास र सुशासन भएको बताएका छन्।
उनले आफू मन्त्री हुँदा धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २ अर्ब ५ करोड बजेट विनियोजन गरेको तर आफू हट्नासाथ त्यो बजेट अन्यत्र रकमान्तर गरिएको गुनासो गरे। अब जितेर गएपछि १८ सय मिटरको रनवेलाई २५ सय मिटर पुर्याउने र धनगढीबाट सिधै मुम्बई, चीन र सिंगापुर उडान भर्ने व्यवस्था मिलाउने उनको दाबी छ।
यस्तै, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निर्माण र गेटा मेडिकल कलेजलाई ५ सय बेडको अस्पतालसहित सञ्चालनमा ल्याउने उनका प्रमुख एजेन्डा छन्।
फाप्ला क्रिकेट मैदानका लागि वर्षमा ५० लाख बजेट आउनु हास्यास्पद भएको भन्दै उनले त्यसमा १५–२० अर्बको बहुवर्षीय ठेक्का लगाएर छिट्टै काम सक्ने प्रतिबद्धता जनाए। धनगढी–खुटिया–दिपायल हुँदै उरै भन्ज्याङ जोड्ने त्रिदेशीय सडक र पश्चिम सेती आयोजनालाई पनि उनले प्राथमिकतामा राखेका छन्।
आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको विषयमा आफूले संसद्मा घाँटी सुकुन्जेल आवाज उठाएको स्मरण गराए। उनले पोखरा विमानस्थलमा ७ अर्ब र भैरहवामा जग्गा खरिदमा ठूलो घोटाला भएको दाबी गर्दै भ्रष्टाचारीलाई नांगेझार पार्नकै लागि आफ्नो उम्मेदवारी भएको बताए। आफूले प्रधानमन्त्रीलाई कारबाहीका लागि भन्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।
आफूले जे बोल्यो त्यो पूरा गर्ने बानी रहेको भन्दै आलेले चुनावी सभामा पार्टी अध्यक्ष प्रचण्ड र वर्षमान पुन आउने खुलासा गरे। उनले आफू ‘एक क्विन्टल’ को मान्छे भएको र आफ्नो साइज अनुसारको काम गरेरै छाड्ने दाबी गरे।

प्रतिक्रिया