आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि देशभर उम्मेदवारी दर्ता शुरू भएको छ । मनोनयन दर्ताको लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको छ । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा दल तथा स्वतन्त्र उम्मेदवारहरुले उत्साहका साथ उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।
भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्नेछ । साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ ।
महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गरेपछि बेलुकी ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । भोलि दिउँसो ३ बजेदेखि पर्सि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको छ ।
शुक्रवार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । शुक्रबार नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
आयोगले यसअघि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकमा १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया