सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनुभयो । देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘स्वयं तपाईं पत्रकारहरु नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायधिशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन अयोग त्रासादीमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाँउ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनिल काम गर्नेहरुको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।’

अध्यक्ष ओलीले धेरै स्थानको प्रहरी प्रमुख फेरिएको सन्दर्भ औंल्याउँदै भन्नुभयो– ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’

झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै भएको उहाँले दाबि गर्नुभयो । मंगलबार उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आउनु भएका अध्यक्ष ओलीले झापामा भएका विकासका कामहरु हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गर्नुभयो ।