देशभर ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झन्डै १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तीमध्ये झन्डै आधा बालबालिका कहिल्यै विद्यालय नगएका र आधा विद्यालय जान छाडेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा शिक्षा र समावेशिता र बालबालिकाको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । यो अवस्था विकट भूगोल, न्यून आयस्तर र सीमान्तकृत समुदायमा बढी देखिएको छ ।
कार्यालयको जनसङ्ख्या शाखाका निर्देशक विनोदशरण आचार्यका अनुसार विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर (५ वर्ष) र माध्यमिक तहमा प्रवेश गर्ने उमेर १० देखि १४ वर्षमा उच्च रहेको छ । विशेषगरी कक्षा ५ पछिको वर्षहरूमा विद्यालय छाड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रादेशिक रूपमा मधेशमा कहिल्यै विद्यालय नगएका बालबालिकाको हिस्सा ६० प्रतिशतभन्दा धेरै रहेकाे छ । गण्डकीमा किशोरावस्थामुनिका विद्यालयबाहिरका बालबालिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको छ ।
जाजजातिका रूपमा मधेशी, मधेशी दलित तथा धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका झन्डै तीन चौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा परेका छन् । यसको विपरीत पहाडी जातजाति र पहाडी जनजातिमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या न्यून देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार विपन्न वर्गका झन्डै ४५ प्रतिशत बालबालिका र सम्पन्न वर्गका ३ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् ।
५ वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालयमा उपस्थिति दर तीव्र रूपमा घटेको छ । १५ वर्षदेखि १९ वर्ष उमेर समूहका चारमध्ये एक जना विद्यालयभन्दा बाहिर रहेका छन् । छात्राहरूको हकमा यो समस्या अझ गहिरो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिका रहेका छन् । याे कुल जनसङ्ख्याको ३४ प्रतिशत हो । २०५८ सालमा ४७ प्रतिशत रहेको बालबालिकाको अनुपात २०७८ सालसम्म आइपुग्दा लगातार घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । २१०८ सालसम्ममा बालबालिकाको हिस्सा २२ प्रतिशतमा सीमित हुने प्रतिवेदनकाे प्रक्षेपण छ । मधेश र लुम्बिनीमा बालबालिकाको उपस्थिति अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । कुल बालबालिकामध्ये मधेशको हिस्सा २४ प्रतिशत रहेको छ भने कर्णाली र गण्डकीमा प्रत्येकको हिस्सा ७ प्रतिशत मात्र रहेको छ ।
यस्तै १६ देखि १७ वर्ष उमेर समूहका ५ प्रतिशत बालबालिकाको विवाह भइसकेको पाइएको छ । कर्णाली प्रदेशमा यो दर ९ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा न्यून ३ प्रतिशत रहेको छ । विवाहित किशोरीमध्ये २६ प्रतिशत गर्भवती रहेको र विवाहित बालबालिकामध्ये केवल ३७ प्रतिशत मात्र विद्यालय गइरहेका छन् । अविवाहित बालबालिकामध्ये ८९ प्रतिशत विद्यालयमा अध्ययरत छन् । विवाहित बालबालिकामध्ये निष्क्रिय बालबालिकाको तुलनामा तीन गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलका अनुसार कार्यालयले अहिलेसम्म ६० भन्दा धेरै तथ्याङ्कीय प्रतिवेदन र विषयगत प्रतिवेदनहरू प्रकाशन गरिसकेको छ । जनगणनाअनुसार नेपालमा बालबालिकाको जनसङ्ख्या घट्दो दरमा रहेको र बालविवाह, गरिबी, आर्थिक सक्रियता, बसाइँसराइ र मानसिक स्वास्थ्यजस्ता विषयहरूले अझै गम्भीर चुनौती सिर्जना गरेको छ । चुनौतीको समाधानका लागि लक्षित, समावेशी र प्रभावकारी नीतिगत हस्पक्षेप अपरिहार्य रहेको प्रतिवेदनले निष्कर्ष पनि निकालेको छ ।
यो प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. पोख्रेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया