चीनको न्यालम–खासा क्षेत्रको वनमा डढेलो : तातोपानी नाका बन्द


चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा डढेलो लागेपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो ।

अस्ति आइतवारति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा शुरु भएको आगलागी र डढेलो हिजो बेलुकासम्म पनि नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो ।

स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक गाडीको आवागमन बन्द गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ ।

हिजोदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।