देउवा गुटको बैठकमा शेखर कोइरालासहित चार नेता पनि सहभागी



नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको गुटको बैठकमा शेखर कोइराला समूहका नेताहरू सहभागी भए।
देउवा निवास महाराजगन्जमा बसेको बैठकमा विशेष महाधिवेशनबारे छलफल भयो ।
विशेष महाधिवेशनमा नेतृत्व चयनको कार्यविधि पारित भएपछि देउवा आगामी रणनीति बनाउन जुटेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् ।
देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए । आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पुगेका हुन् । देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनसहितको कार्यविधि पारित गरिएपछि देउवा आगामी रणनीति बनाउन छलफलमा जुटेको बताइएको छ। देउवा गुट विशेष महाधिवेशनको विपक्षमा छ । तर बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनलाई साथ दिएका छन् ।