पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन आह्वान


नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पाेखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय र उत्साहपूर्णरूपमा सहभागी हुन आग्रह गर्नुभयो ।

पाेखरेलले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुङ्गा सावित हुने उहाँको दाबी छ ।

पाेखरेलले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो ।

पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रीय महाधिवेशन आह्वान गरेको हो । पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै आउँदाे जेठ मसान्तसम्मका लागि केन्द्रीय कार्यसमितिको कार्यअवधि थप गरिसकेको छ ।