प्रधानमन्त्री कार्कीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह


प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

राजनीतिक गतिविधिमा सक्रिय रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट अलग हुन सुझाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारको मर्मविपरीत मन्त्रीहरू राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेकी थिइन् । बैठकमा उनले स्पष्ट शब्दमा राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्तिमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने धारणा राखेको ती मन्त्रीले बताए ।

विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको स्रोतको भनाइ छ । हालै घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय गरिएको थियो । सोही क्रममा रास्वपाले घिसिङलाई उपसभापति बनाएको छ ।

यस्तै रास्वपाका गतिविधिमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि सक्रिय रूपमा देखिँदै आएको प्रधानमन्त्रीको बुझाइ छ । सञ्चारमन्त्री जगदीश खरेलले पनि आफ्नै स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको भन्दै प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नागरिक सरकारको अवधारणाअनुसार मन्त्रीहरू गैरराजनीतिक रहनुपर्ने मान्यता रहँदै आएको छ ।

प्रधानमन्त्रीको आग्रहपछि सम्बन्धित मन्त्रीहरूको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन ।