कांग्रेस नेता निधिमाथि कार्यालय प्रवेशमा दुर्व्यवहार


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई कार्यालय प्रवेशमा दुर्व्यवहार भएको छ । आज दिउँसो निधि पार्टी कार्यलय प्रवेश क्रममा काँग्रेसकै व्यक्तिहरुले दुर्व्यवहार गरेका हुन् ।

नेता निधिले भने आफूमाथि दुर्व्यवहार गर्ने व्यक्ति कांग्रेस हुन नसक्ने बताएका छन् । आफूमाथि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्दै दुर्व्यवहार गरिए पनि विशेष महाधिवेशन पक्षधरले यहाँ कुनै कार्यक्रम नरहेको जानकारी गराएकाले आक्रमण गर्ने व्यक्ति अरू नै कोही भएको उनको अनुमान छ ।

“विशेष महाधिवेशन पक्षधरको केन्द्रीय कार्यालय घेराउसहितका कुनै पनि कार्यक्रम नरहेको भनेर मधु आचार्यजीले विज्ञप्ति जारी गर्नुभएको थियो,” निधिले भने, “मेरो नजिक आएको व्यक्तिको रक्सी खाएर मुख गन्हाइरहेको थियो । कांग्रेस नभएर कुनै परिचालित व्यक्ति हुन सक्छ ।”

सुरुमा विशेष महाधिवेशन हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दा निधिले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका थिए । त्यसपछि विशेष ‘महाधिवेशनको विपक्षमा उभिन पाउँदैनस्’ भन्दै दुर्व्यवहार गरेको उनले बताए ।

“म नौ १० वर्षको हुँदादेखि मण्डलेहरूको दुर्व्यवहार सहेर आएको व्यक्ति हुँ । यसलाई मैले ठूलो रूपमा लिएको छैन,” निधिले भने, “राजनीतिक अडानलाई धम्कीले प्रभावित गर्न सक्दैन । आफ्नो यात्रामा निरन्तर हुनेछु ।”