ताप्लेजुङमा यो वर्ष करिब ३ हजार हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफलबाट कुल ४ हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको छ ।
कृषि ज्ञानकेन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेँका अनुसार गत वर्ष जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो, जसबाट चार हजार २५६ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा ३८ हेक्टर क्षेत्रफल वृद्धि भई ६४ मेट्रिकटन बढी कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा अघिल्ला वर्षसम्म सीमित किसानले मात्र कोदो खेती गर्ने गरेकामा पछिल्लो केही वर्षयता यसको विस्तार हुन थालेको देखिएको छ । कोदोको माग बढ्दै जानु, यसको पोषण महत्त्व, उपभोगबाट हुने स्वास्थ्य लाभबारे किसान तथा उपभोक्तामा चेतना बढ्न थालेपछि कोदो खेतीतर्फ किसान आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।
स्थानीय रूपमा उत्पादन हुने ‘लोकल’ कोदो गाउँघरमा एक पाथी (करिब चार किलोग्राम) को २०० देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । मूल्य तुलनात्मक रूपमा महँगो भए पनि मागअनुसार कोदो सहजै नपाइने उपभोक्ताहरू बताउँछन् । कोदोको ढिँडो, रोटी लगायत विभिन्न परिकार बनाएर उपभोग गर्दा स्वास्थ्यलाई फाइदा हुने भएकाले पछिल्लो समय यसको माग बढ्दो अवस्थामा रहेको छ ।

प्रतिक्रिया