नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
पार्टीले यसलाई अन्तर्राष्ट्रिय कानुन, राष्ट्रको सार्वभौमिकता र लोकतान्त्रिक मूल्यविरुद्धको कदम भएको ठहर गरेको छ ।एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै कुनै एक देशको राष्ट्र प्रमुखको आदेशमा अर्को स्वतन्त्र राष्ट्रका जननिर्वाचित राष्ट्र प्रमुखलाई सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका छन् ।
उनले यस्तो कदमले संयुक्त राष्ट्रसंघसहित विश्व संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाउने उल्लेख गरेका छन् ।महासचिव पोखरेलका अनुसार भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ ।
उनले यस विषयमा अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक रहेको पनि टिप्पणी गरेका छन् ।
यसैबीच, एमालेका सचिव महेश बस्नेतले पनि अमेरिकी कदमलाई साम्राज्यवादी हस्तक्षेपको संज्ञा दिँदै कडा निन्दा गरेका छन् । उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् । सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर असर पार्ने चेतावनी दिँदै विश्व समुदाय एकताबद्ध भएर यस्ता कदमको प्रतिरोधमा उत्रिनुपर्ने बताएका छन् ।
“कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,” उनले भने, “यस्ता कदमले विश्व व्यवस्थालाई झनै अस्थिर बनाउने खतरा हुन्छ।” उनले अन्तर्राष्ट्रिय सम्बन्धमा समानता, पारस्परिक सम्मान र सार्वभौमिक अधिकारको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै विश्व समुदायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया