बाल विकास शिक्षकका लागि पाँचदिने आवासीय तालिम सुरु


रामेछापको उमाकुण्ड गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने आवासीय तालिम सिद्धेश्वर माध्यमिक विद्यालयको सभाहल बाम्तीमा सुरु भएको छ । तालिम पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

गाउँपालिकाको आयोजनामा भएको तालिमको औपचारिक उद्घाटन सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीको अध्यक्षतामा तथा वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप बस्नेत, समिति सदस्य गोर्मान दर्जी तथा सिट नेपाल (CIT Nepal) का फिल्ड को–अर्डिनेटर अनिल बस्नेतको विशेष उपस्थिति रहेको थियो।

तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्दै प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधार गर्नु रहेको छ। तालिममार्फत प्रारम्भिक बाल शिक्षाको अवधारणा, बालविकास कक्षामा के र कति सिकाउने, बालमैत्री शिक्षण–सिकाइ विधि, मूल्यांकन प्रणाली, कक्षाकोठा व्यवस्थापन तथा सिकाइ वातावरण, खेल तथा सिर्जनात्मक गतिविधि, कक्षा १ का शिक्षकसँग समन्वय, अभिभावक शिक्षा तथा बैठक सञ्चालनलगायत व्यवहारिक विषयहरूमा प्रशिक्षण प्रदान गरिनेछ ।
तालिमको क्रममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र र सिद्वेश्वर माध्यमिक विद्यालय बाम्तीकाे बाल विकास कक्षाकाे अनुगमन समेत गरिनेछ, जसबाट व्यवहारिक सिकाइ र प्रत्यक्ष अवलोकनमार्फत शिक्षकहरूको क्षमता थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

तालिममा सामुदायिक मण्टेश्वरी सिकाइ केन्द्र, बाम्तीका सहजकर्ता बबिता कार्की र फुर्ल्हाकी शेर्पाले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुहुनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले प्रारम्भिक बाल शिक्षाको महत्व उल्लेख गर्दै बाल विकास शिक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता तालिमहरूले शिक्षकहरूको ज्ञान र सीपमा वृद्धि भई बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

तालिम कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका ४० जना बाल विकास शिक्षकहरूकाे उपस्थिति रहेको छ । सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।