उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सिफारिस गरिएका केही उम्मेदवारलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा असत्य, भ्रामक र नियोजित टिकाटिप्पणी फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उहाले सञ्जालमा ‘भाञ्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्ना भाञ्जा नभएको र उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति भएको बताएका हुन्। साथै, समानुपातिक सूचीमा रहेका र आफ्ना ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्नो ससुरा नभएको उनले जनाएका छन्।
घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्तिको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको स्पष्ट गरे। सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको उल्लेख गर्दै, त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइएका हल्ला र आरोप दुःखद भएको बताए।
राजनीतिमा असहमति हुन सक्ने भए पनि झुट र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक रहेको उनको भनाइ छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया