रामेछापका पत्रकारलाई एआई तालिम


रामेछापका पत्रकारका लागि कृत्रिम बौद्धिकता (एआई) तालिम आयोजना गरिएको छ । डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार रजिस्ट्रार कार्यलय बागमती प्रदेशको आयोजना तथा पत्रकार महासंघ रामेछापको सहजिकरणमा ३ दिने तालिम मन्थलीमा सुरु भएको हो ।

पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने सहजताकाका बारेमा क्रियाशिल पत्रकारहरुलाई तालिम  दिन थालिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए । बदलिँदो प्रविधि र सूचना प्रवाहको शैलीसँग पत्रकारहरूलाई अद्यावधिक गराउने तथा समाचार उत्पादनलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको उनले बताए ।

सञ्चार रजिष्ट्रारको कार्यालय बाग्मती प्रदेशको सहयोगमा सञ्चालन गरिएको तालिममा पत्रकारितामा एआईको आधारभूत अवधारणा, समाचार सङ्कलन, लेखन, सम्पादन तथा तथ्य जाँचमा एआईको प्रयोग, साथै एआईमार्फत फोटो, भिडियो र भिजुअल सामग्री कसरी तयार गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक दुवै किसिमका प्रशिक्षण दिइनेछ । तालिममा एआई प्रयोग गर्दा पालना गर्नुपर्ने पत्रकारिता आचारसंहिता, नैतिक पक्ष, सम्भावना र चुनौतीबारे समेत विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।

तालिममा रामेछापका ३३ जना पत्रकार सहभागी छन् ।