रामेछापको तामाकोशी नदिमा पहिलो पटक जेटबोट सञ्चालनमा आएको छ ।
जलमार्गबाट छिटो र साहसिक यात्राको अनुभव गर्न इच्छुक यात्रु तथा पर्यटकका लागि तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले जेटबोट सेवा सुरु गरेको हो ।
नदीको भौतिक अवस्था परीक्षण सफल भएपछि हाल छोटो दूरीमा मात्रै पानीजहाजलाई व्यावसायिक रूपमा सञ्चालन गरिएको सञ्चालक सागरहरी अधिकारीले जानकारी दिए।
उनका अनुसार सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूसँग छलफल गरी कानुनी प्रक्रिया मिलाएपछि मन्थलीदेखि खुर्कोटसम्मको सेवा पनि चाँडै शुरु हुने छ । यदि यो सेवा शुरु भएमा मन्थली ( खुर्कोट यात्रा ७ मिनेटको मात्र हुने संचालकको दाबी छ।

जेटबोटमा एकपटकमा १५ जनाको सिट क्षमता रहेको छ । तामाकोशी नदीमा पहिलो पटक जेटबोट सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरू उत्साहित देखिएका छन् । यसले रामेछापको प्राकृतिक सौन्दर्यलाई नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको सञ्चालक अधिकारीले बताए।


प्रतिक्रिया