सोलुखुम्बु नेकपाद्वारा निर्वाचनका लागि उम्मेदवार सिफारिस



नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला समितिको बैठक आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ।

बैठकले आगामी निर्वाचनका लागि जिल्लाबाट विभिन्न तहमा उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।


जिल्ला समितिको निर्णयअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ हेमकुमार राई ‘शूरवीर’, असिम राई, शिवबहादुर बस्नेत ‘राजेन्द्र’, आङ्गदावा शेर्पा र अम्बिरकाजी कुलुङलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।


यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ गोपाल किराँती, पासाङ शेर्पा ‘कर्मा’, निमातेण्डुप शेर्पा, घनश्याम नेपाली र केशब खड्का ‘श्याम’ सिफारिस भएका छन्।


महिलातर्फ करूणा ढुङ्गेल, ङिमाडिकि शेर्पा र अमृता कुलुङ राईलाई उम्मेदवारका रूपमा अघि सारिएको छ।


त्यस्तै, राष्ट्रिय सभातर्फ घनश्याम नेपालीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ।
बैठकले पार्टीको संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनसम्पर्कलाई प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत छलफल गरेको बताइएको छ।

सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको केन्द्रीय नेतृत्वसमक्ष पठाइने जनाइएको छ।