बंगलादेशको राजधानीमा फेरि भड्कियाे हिंसा


बंगलादेशको राजधानी ढाकामा फेरि हिंसा भड्किएको छ । बुधबार भएको बम आक्रमणमा एक युवकको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको नाम सियाम रहेको खुलेको छ । उनी सडक किनारको चिया पसलमा चिया पिउँदै गर्दा केही व्यक्तिहरूले फ्लाइओभरबाट बम फालेका थिए । बम जमिनमा खस्नासाथ भएको विस्फोटमा सियाम गम्भीर घाइते भए । उनलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो । 

यो घटनाले पहिल्यै तनावग्रस्त वातावरणलाई थप गम्भीर बनाइदिएको छ । देशमा राजनीतिक उथलपुथल, अल्पसंख्यकमाथि आक्रमणको आरोप र आगामी आम निर्वाचनबीच बढ्दो हिंसाले बंगलादेशलाई अस्थिरताको चरणतर्फ धकेलेको छ ।

तारिक रहमानको फिर्तीअघि बढ्दो तनाव
यो घटना त्यही समयमा भएको हो, जब बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि देश फर्कन लागेका छन् ।

उनको फिर्ती बिहीबार (आज) हुने बताइएको छ । तारिक रहमानको आगमनलाई लिएर ढाकामा तयारी तीव्र बनाइएको छ । उनका समर्थकहरूले यसलाई ठूलो राजनीतिक घटनाक्रमका रूपमा हेरिरहेका छन् । 

यद्यपि, यसैबीच विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्याले अवस्था झन् बिग्रिएको छ ।

विद्यार्थी नेता हत्याकाण्ड र हिंसा
विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बङ्गलादेशमा व्यापक हिंसा भड्किएको थियो । यसैक्रममा बंगलादेशमा हिन्दू व्यक्ति दीपुचन्द्र दासको हत्यालाई लिएर पनि ठूलो आक्रोश उत्पन्न भएको छ । भारतमा यस घटनाविरुद्ध धेरै सहरहरूमा प्रदर्शन भएका छन् । नयाँ दिल्ली, कोलकाता, भोपाल, जम्मू, अगरतला, मुम्बई र हैदराबादमा मानिसहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै बंगलादेशमा हिन्दूहरूको सुरक्षाको माग गरेका छन् ।

बंगलादेशको अन्तरिम सरकारका शिक्षा सल्लाहकार सी.आर. अबरारले मृतकको परिवारसँग भेट गरी सरकारले परिवारको जिम्मेवारी लिने र दोषीहरूलाई सजाय दिने आश्वासन दिएका छन् ।

यी घटनाहरूको असर भारत–बंगलादेश सम्बन्धमा पनि परेको छ । ढाकाले नयाँ दिल्ली र अगरतलामा भिसा सेवाहरू निलम्बन गरेको छ । दुवै देशले एकअर्काका कूटनीतिज्ञहरूलाई बोलाएका छन् । भारतका उच्चायुक्त प्रणय वर्मालाई ढाकास्थित विदेश मन्त्रालयमा बोलाइएको छ । बंगलादेशका उच्चायुक्त रियाज हामिदुल्लाहलाई नयाँ दिल्लीको विदेश मन्त्रालयले बोलाएको छ ।

बंगलादेश सरकारका अर्थमन्त्री सालेहुद्दिन अहमदले मुख्य सल्लाहकार मुहम्मद युनुस भारतसँग सम्बन्ध सुधार्न प्रयासरत रहेको बताएका छन् ।

बंगलादेशको अन्तरिम सरकारले अवस्था नियन्त्रणमा लिने र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यद्यपि, निरन्तर भइरहेका हिंसात्मक घटनाहरू, राजनीतिक तनाव र कूटनीतिक खिचातानी सरकारका लागि ठूलो चुनौती बनेका छन् ।