खिजीदेम्बामा तामाङद्वारा ३ सय बढीलाई ज्याकेट वितरण


खिजीदेम्बा गाउँपालिका–६ ओखलढुंगामा समाजसेवी शेर बहादुर तामाङको आर्थिक सहयोगमा न्यानो ज्याकेट वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चिसो मौसमलाई मध्यनजर गर्दै आयोजित उक्त कार्यक्रमको अन्तिम दिन ३०० भन्दा बढी न्यानो ज्याकेट वितरण गरिएको हो।

कार्यक्रम अन्तर्गत वडा नम्बर ६ भित्रका सबै विद्यालयका विद्यार्थी र शिक्षकहरू, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, वडाका कर्मचारी तथा स्वयंसेवी आमा–दिदीबहिनीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको खिजिदेम्बा गाउँपालिकाका प्रवक्ता पासाङ ङिमा शेर्पाले जानकारी दिए ।

न्यानो ज्याकेट वितरण कार्यक्रमले चिसो मौसममा प्रत्यक्ष राहत पुग्नुका साथै शैक्षिक, सामाजिक, मानवीयता र सेवाभावको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु भएको समाजसेवी शेर बहादुर थिङ तामाङप्रति आयोजक तथा स्थानीय समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उहाँको यो कार्यले समाजमा सकारात्मक सन्देश फैलिनुका साथै युवाहरूलाई सामाजिक सेवामा प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। हाल काठमाण्डौ बस्दै आएका समाजसेवी तामाङ बुवा बल बहादुर तामाङ र आमा बदी माया तामाङको सुपुत्र हुन् ।