निर्वाचनको वातावरण बनाउन शीर्ष नेताबीच पुनः छलफल


राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच निर्वाचनको वातावरण बनाउन पुनः छलफल हुने भएको छ । फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्ने विषयमा मंगलबार बसेको बैठक सकारात्मक भएपछि फेरि बैठक बस्न लागिएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबारको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने विषयमा समझदारी बनेको छ । छलफल सकारात्मक भएकाले पुनः बैठक बस्न लागिएको उनले जानकारी दिए ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले निर्वाचन सम्पन्न गर्न सरकार आफैंले अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।

यद्यपि, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबाट निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको जिकिर गरेका थिए । राष्ट्रपतिले गर्न सक्ने विकल्प सीमित भएकाले अब निर्वाचनमा जानु नै सही हुने धारणा उनले राखेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले भने सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउँदै सबै राजनीतिक दललाई निर्वाचनका लागि तयार रहन र आवश्यक सहयोग गर्न आग्रह गरेकी थिइन् ।