सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक चुनावमय भइसकेको दाबी गर्दै सरकारले तोकिएको मितिमा निर्वाचन गराउन सम्पूर्ण तयारीका साथ अघि बढिरहेको बताएका छन्।
एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर सरकार सक्रिय रूपमा काम गरिरहेको स्पष्ट पारे। उनका अनुसार निर्वाचन आयोग आफ्नो जिम्मेवारीमा सक्रिय छ भने सुरक्षा निकायहरू पनि उच्च मनोबलका साथ परिचालित छन्।
एमाले पार्टी पनि निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, “निर्वाचनको वातावरण निर्माण गरिदिनुहोस्, हामी चुनावमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ।”
सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खरेलले बताए। उनले कुनै पनि नेता वा कार्यकर्तालाई चुनावी प्रचारप्रसारमा अवरोध नआओस् भन्ने कुरामा सरकार गम्भीर रहेको उल्लेख गरे।
“नेताहरू सहज रूपमा मत माग्न बाहिर जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा महत्वपूर्ण हो। त्यसका लागि आवश्यक वातावरण मिलाउने प्रतिबद्धता सरकारको तर्फबाट छ,” उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकिएको विषयमा बोल्दै मन्त्री खरेलले सरकारले आफ्नो अधिकार क्षेत्र, कानुन र प्रक्रिया भित्र रहेर आवश्यक वातावरण बनाउने स्पष्ट पारे। साथै, निर्वाचन आयोगको काममा कुनै नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्ने पनि उनले बताए।
निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई सरकारले बेवास्ता नगर्ने जनाउँदै उनले कानुनी तथा प्रक्रियागत ढङ्गले जिम्मेवारीपूर्वक सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
“यो नागरिकको सरकार हो। मैले पहिल्यै भनेको छु—यो सरकारले न अन्याय गर्छ, न कसैलाई अन्याय हुन दिन्छ,” मन्त्री खरेलले जोड दिए।

प्रतिक्रिया