जेन–जी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ ।
आयोगका अनुसार केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकिएपछि ओली र लेखकलाई औपचारिक रूपमा पत्र पठाइनेछ । आयोगले कम्तीमा एक साताको समय दिने गरी बयानका लागि पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।
हाल आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) तथा तत्कालीन अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीको बयानको केही अंश बाँकी रहेको छ । एक–दुई दिनभित्र बाँकी बयान सम्पन्न भएपछि आयोगले ओली र लेखकलाई बोलाउने प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।
आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरी म्याद तामेल गराउने तयारी समेत गरेको छ । गृहमन्त्री रमेश लेखकले पूर्वसूचना पाए कुनै पनि दिन आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश आयोगका एक सदस्यलाई पठाइसकेको आयोगसम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार लेखकको बयानका विषयमा खास समस्या देखिएको छैन ।
तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयानबारे भने आयोगका अध्यक्ष र सदस्यहरूबीच निरन्तर छलफल भइरहेको छ । ओलीलाई कसरी म्याद तामेल गर्ने र यदि उनी बयानमा नआएमा के गर्ने भन्ने विषयमा विभिन्न विकल्पमाथि छलफल भइरहेको भए पनि कुनै ठोस निष्कर्षमा आयोग नपुगेको बताइएको छ ।
आयोगका कर्मचारी वा प्रहरी परिचालन गरेर ओलीको निवासमै म्याद तामेल गर्ने, पत्र बुझ्न नमानेमा भित्तामा टाँस्ने वा सञ्चारमाध्यममार्फत सूचना जारी गर्ने जस्ता विकल्पमाथि छलफल भइरहेको स्रोतले जनाएको छ ।
आयोगले यसअघि बानेश्वरस्थित संसद् भवन क्षेत्रमा गोली चलाउने सुरक्षाकर्मी, उनीहरूलाई आदेश दिने कमान्डर, बल प्रयोगको लिखित आदेश दिने काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा गृहसचिवसँग समेत बयान लिइसकेको छ ।
आयोगका पदाधिकारीहरू संकलित बयान र तथ्यका आधारमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सोधिने प्रश्नहरूको खाका तयार गर्ने काममा जुटिरहेका छन् ।

प्रतिक्रिया