आयोगले लियाे बालेन शाहको बयान


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्।

भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन्। आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म चलेको सोधपुछमा शाहसँग घटनाका दिन उनी कहाँ थिए भन्ने विषय, सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरपालिकाको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो। यद्यपि, आयोगले शाहले दिएको बयान सार्वजनिक गर्न नमिल्ने भन्दै विवरण खुलाएको छैन ।

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा छानबिन गरिरहेको छ। उक्त छानबिन आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले गरिरहेको आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म १४६ जनाको बयान लिइसकिएको छ।

आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीको बल प्रयोग, पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनताका विषयलाई आधार बनाएर छानबिन भइरहेको र प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएकाे छ ।