मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी रूपमा ‘संयुक्त जेन–जी’ आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
आज आयोजित एक कार्यक्रममा समूहले आन्दोलनको औपचारिक घोषणा गर्दै भोलि बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला हुन आम नागरिक तथा युवाहरूलाई आह्वान गरेको छ।
आन्दोलन घोषणा कार्यक्रममा बोल्दै जेन–जी अभियन्ता मिराज ढुंगानाले भदौ २३–२४ मा भएको जेन–जी आन्दोलन र त्यसले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले सरकार गठन भएको सय दिन बितिसक्दा पनि जनताले महसुस गर्ने खालको कुनै उल्लेखनीय काम हुन नसकेको टिप्पणी गरे।
ढुंगानाका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको मात्र होइन, समग्र युवाको नेतृत्व गर्न पनि असफल भएको छ। उनले युवाको विश्वास जित्न सक्ने र सबै राजनीतिक तथा सामाजिक पक्षलाई विश्वासमा लिन सक्ने सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए। देश अहिले साझा नेतृत्व र सहमतिमा आधारित राजनीतिक समाधानतर्फ जानुपर्ने उनको भनाइ थियो।
‘युवाले उठाएका मुद्दालाई बेवास्ता गर्दै सरकार अघि बढ्न खोजे हामी चुप लागेर बस्दैनौँ,’ ढुंगानाले भने, ‘यो आन्दोलन युवाको आवाज र भविष्यसँग जोडिएको आन्दोलन हो।’
आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन–जी अगुवाहरूको उपस्थिति रहेको थियो। सहभागी अगुवाहरूले आन्दोलन शान्तिपूर्ण तर सशक्त हुने बताएका छन्। जेन–जी समूहले आन्दोलनका आगामी कार्यक्रमहरू क्रमशः सार्वजनिक गर्दै सरकारमाथि दबाब बढाउने जनाएको छ।

प्रतिक्रिया