फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले कडा सवारीसाधन व्यवस्थासहितको प्रस्तावित आचारसंहिता सार्वजनिक गरेको छ। आचारसंहिताअनुसार अब अनुमति नलिई कुनै पनि उम्मेदवार वा दलले सवारीसाधन प्रयोग गरेर निर्वाचन प्रचार गर्न पाउने छैनन्।
प्रस्तावित आचारसंहितामा अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी प्रचारप्रसार, जुलुस वा प्रचार सामग्री प्रदर्शन गरेमा त्यस्ता सवारीसाधन तत्काल नियन्त्रणमा लिई कारबाही गरिने व्यवस्था गरिएको छ। ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका सवारीसाधनको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई दिनुपर्नेछ।
निर्वाचन अधिकृतको अनुमति लिएर मात्र उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक सवारी प्रयोग गर्न सक्नेछन्। सवारीसाधन नपुग्ने स्थानमा भने चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
विदेशी नम्बर प्लेटका सवारीसाधन निर्वाचन प्रचारमा पूर्ण रूपमा निषेध गरिने र त्यसका लागि कुनै पनि अनुमति नदिइने आयोगले स्पष्ट पारेको छ। राजनीतिक दलले पनि तोकिएको प्रक्रिया पूरा गरी आयोगले स्वीकृत गरेको सङ्ख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्नु पनि बर्जित गरिएको छ।
अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई दिन नपाइने र ती सवारी प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत हिँडडुल गर्न कठिनाइ भएका मतदाताका हकमा निर्वाचन अधिकृतको अनुमति पाएमा सवारी प्रयोग गर्न सकिनेछ।
यसैगरी, राजनीतिक दलले आफ्नो मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न सक्ने प्रस्तावित व्यवस्था गरिएको छ। निर्वाचनलाई मर्यादित, खर्चिलोपनबाट मुक्त र समान प्रतिस्पर्धात्मक बनाउन यी व्यवस्था ल्याइएको आयोगको भनाइ छ।

प्रतिक्रिया