एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

पदाधिकारीमा संस्थापन पक्षकाे बाहुल्यता


नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्।

अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरसहित विजयी हुनुभएको छ। ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेल अपेक्षाकृत कम मतमा सीमित हुनुभएको छ। महासचिव पदमा कडा प्रतिस्पर्धा देखिए पनि संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतको अन्तरले विजयी हुनुभएको छ।

संस्थापन इतर, अर्थात् ईश्वर पोखरेल प्यानलबाट भने उपाध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी हुनुभएको छ। १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन्, जसले पार्टीभित्र संस्थापन पक्षको स्पष्ट वर्चस्व देखाएको छ।

निर्वाचित पदाधिकारीहरूको मत परिणाम यसप्रकार रहेको छ।

अध्यक्ष पदमा केपी शर्मा ओलीले १,६६३ मत प्राप्त गर्नुभएको छ।

उपाध्यक्ष पदमा पृथ्वी सुव्वा गुरुङ १,७३७, विष्णु प्रसाद पौडेल १,६७५, रामबहादुर थापा ‘बादल’ १,५१६, गोकर्णराज विष्ट १,३६८ र रघुजी पन्त १,२५८ मतसहित निर्वाचित हुनुभएको छ।

महासचिव पदमा शंकर पोखरेल १,२२८ मतसहित विजयी हुनुभएको छ।

उपमहासचिव पदमा लेखराज भट्ट १,४५२, रघुवीर महासेठ १,३६८ र योगेश भट्टराई १,३४८ मतसहित निर्वाचित हुनुभएको छ।

सचिव पदमा महेश बस्नेत १,५४४, पद्माकुमारी अर्याल १,५३०, शेरधन राई १,५३०, छविलाल विश्वकर्मा १,५०६, हिक्मत कुमार कार्की १,३३७, खगराज अधिकारी १,३३१, यमलाल कडेल १,१८५, राजन भट्टराई १,१८१ र भानुभक्त ढकाल १,१०८ मतसहित विजयी हुनुभएको छ।