पार्टी र नेतृत्वको रक्षामा अविचलित अम्बिरबाबुले एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

नुतन श्रेष्ठ
7.5k
Shares

एमाले नेता अम्बिरबाबु गुरुङले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने भएका छन् । लामो समय तल्लो कमिटीमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गर्दै कार्यकर्ता माझ लोकप्रिय नेताको पहिचान बनाएका ओखलढुंगाका गुरुङले आसन्न एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका हुन् ।

राजनीतिक अभियान र पहिचान

मालेकालीन समयमै कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएर राजनितिमा होमिएका गुरुङ २०५३ सालमा एमालेको जिल्ला कमिटी सदस्य बने । ०५४ को स्थानीय निर्वाचनमा रुम्जाटार गाविसमा उनकै कमाण्डमा नेकपा एमालेले निर्वाचन परिचालन गरेको थियो । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टहरुलाई जिताएर चर्चामा आएका गुरुङ ०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा ओखलढुंगा १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेद्वार बने । लगातार राजनीति र समाजसेवामा सकृय गुरुङ २०७० को निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेश सांसद हुँदै भौतिक पूर्वाधार विकास मन्त्री बने । उनको कार्यकालमा कोशी प्रदेश भर पूर्वाधार विकासका क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान भए । वर्षौं अधुरा रहेका आयोजनाहरु सम्पन्न भए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर राज्यकोषको दुरुपयोग हुन रोक्दै दिगो विकासको लक्ष्यमा केन्द्रीत हुने जग गुरुङले नै बसाए । ओखलढुंगा जिल्लामा ५ वर्षमा १० अर्व भन्दा बढी विकास बजेट ल्याएर विकासका आयोजना सञ्चालन गरी जनताको बीचमा विकासप्रेमी नेताका रुपमा स्थापित भए ।

संकटमा सतीसाल, नेतृत्वमा अब्बल

२०७४ साल अघि जिल्लामा गुरुङ दोस्रो तहका नेता भएपनि पार्टी निर्माणमा अग्रणि भूमिकामा थिए । २०७० मा एमालेलाई ओखलढुंगामा पहिलो पटक जिताउन अहम् भूमिका खेलेका गुरुङले ०७४ को निर्वाचनमा प्रदेशसभाको टिकट पाए । विपक्षी उम्मेद्वारसँग ७ हजार भन्दा बढी मतान्तरले जितेपछि पार्टी निर्माणसँगै उनि जनताको काममा केन्द्रीत भए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुष ५ गते संसद विघटन गरेपछि तत्कालिन पार्टी नेकपामा समस्या आयो । त्यो बेला यज्ञराज सुनुवारसहित ओखलढुंगाका नेकपाका अधिकांश शिर्ष नेताहरु ‘केपी ओली संविधानका हत्यारा र बलात्कारी भए, देशलाई प्रतिगमन तर्फ लगे’ भन्दै नेतृत्वका विरुद्ध लागे । त्यो बेला सम्म जिल्लामा पार्टीको नेतृत्व गरिरहेका सुनुवार केपी ओलीको कदमका विरुद्ध अभिएर सर्वोच्चमा हस्ताक्षर गर्नेदेखि जिल्लामा ओलीका विरुद्ध उत्तेजित भाषण गर्दै प्रचण्ड र माधव नेपाल खेमामा उभिए । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा पुगेर हस्ताक्षर गरेका सुनुवारले जिल्लामा पुगेर ओलीलाई पार्टी सदस्यबाट समेत हटाइको सन्देश दिए र उनले बनाएका केन्द्रीय सदस्यको हैसियत माथि प्रश्न गरे ।

त्यो बेला अम्बिरबाबु गुरुङसहितका नेताहरुलाई ओलीले नेकपाको केन्द्रीय सदस्य मनोनित गरिसकेका थिए ।

जब जिल्लामा नेतृत्वले फरक अभियान चाल्यो, ओली समूह नेतृत्व विहिन जस्तो बन्यो, त्यसपछि गुरुङ नेता भएर निस्किए । नेतृत्व रक्षा कवज झैं ओलीको कदमको पक्षमा उभिए । केपी शर्मा ओलीका पक्षमा जिल्ला र प्रदेशमा जनसभा र प्रदर्शन कार्यक्रमहरु व्यवस्थापनमा योगदान गरे । पार्टी संगठनलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व गरे । अदालतले एमाले र माओवादीलाई छुट्याइदिए पछि संटकमा सतीसाल झैं उभिएका गुरुङलाई कार्यकर्ताले ओखलढुंगा एमालेको निर्णायक नेता बनाए ।

जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हुँदै लामो समय आर्थिक विभाग प्रमुखको जिम्मेवारीमा रहेर जिल्लामा काम गरेका गुरुङले ओखलढुंगामा एमालेको भौतिक रुपमा भवन निर्माण र सांगठानिक रुपमा पार्टी निर्माणमा आर्थिक अभियानको नेतृत्व गरे । जनसंगठन सञ्चालन र चुनाव परिचालनमा निर्णायक बने । पार्टीमा रुपान्तरण र पुस्तान्तरणको पक्षमा रहने गुरुङले जिल्लामा सयौं नेता उत्पादन गरे । कार्यकर्ताको दुःख र जनताको समस्यामा निस्वार्थ भावले सहयोग गर्ने गरेका उनले एमालेलाई जनपक्षिय पार्टीका रुपमा जिल्लामा स्थापित गराउन भूमिका खेले । पार्टी प्रवेश गराउनेको लर्को लाए ।

प्रष्ट विचार र हक्कि स्वभावका अम्बिर पार्टी भित्र विधि, पद्धति, अनुसाशन कायम गर्दै जनताको बीचमा जाने नेता हुन् । पार्टीलाई संकटपार्ने, नीति, विधि र नेतृत्वको विरुद्धमा उभिने र स्वार्थ केन्द्रीत गुटमा लाग्नेका विरुद्ध गुरुङले पार्टी भित्रै पनि प्रतिकार गर्ने गरेका छन् । पार्टीमा आईपरेका समस्या र नेताहरुको गलत कार्यशैलीका विषयमा खरो बोल्ने भएपनि पार्टी जीवनमा उनले घात वा अविश्वास पैदा हुने काम गरेको रेकर्ड छैन ।

पार्टी प्रदेश कमिटीको सचिवालयमा २ कार्यकाल काम गरेका गुरुङ एमालेको नीति, नेतृत्वको रक्षा कवच र कार्यकर्ताको अभिभावकका रुपमा भूमिका खेलिरहेका छन् । युवाहरु माझ लोकप्रिय गुरुङ राजनीतिसँगै समाजसेवामा पनि सकृय छन् ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्पसहित उम्मेद्वारी

एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्पसहित आफुले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरेको गुरुङले बताएका छन् । पार्टी र नेतृत्वका विरुद्ध भईरहेको प्रहार रोकेर जनताको मतबाट निर्णायक शक्तिका रुपमा पुनःस्थापित गर्न योेगदान गर्ने लक्ष्यले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा जान चाहेको गुरुङको भनाई छ ।

‘जुनदिन कम्युनिष्ट पार्टीको सदस्यता लिएँ त्यो दिनदेखि आजसम्म पनि पार्टीको नीति, विधी, पद्धति र नेतृत्वको रक्षा, संगठनको हित र कार्यकर्ताको सुरक्षामा मैले कुनै कसुर बाँकी राखिनँ । लामो समय पार्टीको तल्लो कमिटीमा बसेर जिम्मेवार पूर्वक मैले काम गरेँ ।  नेकपा एमालेका विरुद्ध भईरहेका षड्यन्त्रहरु रोक्न र जनताको भरोषा जितेर देशको पहिलो पार्टीका रुपमा पुनःस्थापित गर्न राष्ट्रिय स्तरमै योगदान गर्ने लक्ष्यले एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिँदैछु ।’ गुरुङले भने, ‘पार्टी निर्माणमा योगदान गर्न सक्ने उर्जा भएका कम्रेडहरु यस पटक केन्द्रीय कमिटीमा आउनुपर्छ । युवा पुस्तालाई बढीभन्दा बढी समेटेर पार्टीमा रहरलाग्दो जनतामा भरलादो एमाले बनेको सन्देश दिनुपर्छ ।’ एमालेको महाधिवेशनमा प्रतिस्पर्धा र विभाजनको बाटो भन्दा सहमति र एकताको खाँचो रहेको उनको तर्क छ ।