चिसो बढ्यो, बच्न अपनाउनुस् यी उपाय


यतिखेर चिसो मौसम छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा मात्र होइन युवा उमेरका मानिसहरूलाई पनि विभिन्न समस्या देखिने गर्छ।

चिसोमा दिनहुँ मोटरसाइकल, स्कुटरमा खुल्ला तरिकाले हिड्ने युवालाई इन्फ्लुएन्जा (फ्लू) संक्रमणले धेरै पिरोलेको पाइन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो।

जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि युवा तथा ज्येष्ठ नागरिकलाई फ्लुको जोखिम गराउने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

चिसो बढेसँगै कोल्ड-डायरिया तथा फ्लु संक्रमणसमेत हुने जोखिम रहेकाले सचेत हुनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

प्रत्येक वर्ष जाडोको सुरुवातसँगै रुघाखोकी तथा ज्वरोका विरामी बढ्ने गर्छन्‌। रुघाखोकीलाई सामान्य रूपमा लिई बेवास्ता गर्दा यसले श्वास–प्रश्वाससम्बन्धी विभिन्न जटिल स्वास्थ्य समस्या निम्त्याउने डा. पुनको सुझाव छ।

उनले भने, ‘चिसो मौसममा इन्फ्लुएन्जाका विरामी बढ्छ। यो मात्रै होइन चिसोका कारण हुने कोल्ड डायरियाको पनि जोखिम उतिकै हुन्छ। त्यसैले खानपान, घरबाहिर चिसो हावामा हिँड्दा विशेष सावधानी अपनाउनु पर्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ फिजिसियन डा. विमल शर्मा चालिसे अन्य मौसममा भन्दा चिसो मौसममा निमोनिया तथा चिसोका कारण हुने फ्लुहरू धेरै हुने बताउँछन्।

‘निमोनियाबाट बच्नका लागि रुघाखोकी लाग्न नदिने वा लागिहालेमा पनि हेलचेक्र्याई नगरी समयमा नै उपचार गर्नुपर्छ। निमोनिया श्वासप्रश्वाससम्बन्धी रोग भएकाले बिरामीको संक्रमणबाट टाढा रहनुपर्छ। त्यसैले घर बाहिर हिँड्दा माक्स लगाएर हिँड्ने, खानेकुरामा विशेष सावधानी अपनाउनु पर्छ’, उनले भने।

यस्ता समस्या देखिए फ्लु संक्रमण भएको हुन सक्छ

यो मौसममा  घाँटी खसखस गर्नु, नाकबाट पानी जस्तो सिँगान बन्नु, हातखुट्टा कटकट खानु, नाक बन्द हुनु , ह्यच्छिउँ आउनु यस्ता लक्षणसहित कहिलेकाँही ज्वरो आउनु फ्लुका मुख्य लक्षण हुन्।

यस्ता लक्षण देखिएका बिरामीले सतर्कता नअपनाए अन्य व्यक्तिमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। जसले गर्दा फ्लुका लक्षण भएका व्यक्तिहरूले सामाजिक दूरी कायम गर्ने, खोक्दा वा ह्याच्छि्युँ गर्दा आफ्नो मुख र नाक छोप्ने गर्नु पर्छ।

फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने भए पनि धेरै व्यक्तिहरूले एन्टिभाइरल औषधीहरू खाएको पाइने हुँदा कडा लक्षण देखिएको खण्डमा चिकित्सको परामर्श लिनु आवश्यक हुन्छ।

चिसोबाट बच्नका लागि अहिलेको मौसममा बिहान–बेलुकीको चिसोमा सकभर बाहिर हिँडडुल नगर्ने, हिँडडुल गर्नै परे शरीर पूरै छोपिने गरी न्यायो कपडा लगाएर निस्कने, तातोपानी प्रशस्त पिउने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने समेत डा. पुनले बताए।

यस्तै मौसमी फलफूलहरू विशेष गरी भिटामिन सीयुक्त फलफूल खाने र चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी समस्याबाट जोगिन तुँवालो लागेका बेला मास्क प्रयोग गर्ने, हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाले मोइस्चराइजर क्रिम प्रयोग गर्दा पनि चिसोको प्रकोपबाट सुरक्षित हुन सकिन्छ।

विशेषगरी दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू फ्लू जोखिममा हुने र यस्ता व्यक्तिहरूम फ्लु संक्रमण भएमा धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ।