ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा मावि तहसम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको छ । कल्स ओभर रिजेज नेपाल, खिजीदेम्बा गाउँपालिका र अभिभावकको संयूक्त लागत साझेदारीमा माविसम्मका विद्यार्थीलाई विद्यालयमा पोषणयूक्त दिवा खाजा कार्यक्रम सुरु गरिएको हो ।
खिजीदेम्बाका ७ मध्ये गतवर्ष नर्मदेश्वर मावि चप्लेटी, चण्डेश्वरी मावि रगनी, कुण्डली मावि खिजीकाती र फुलमती मावि खिजीफलाटेमा पोषणयूक्त दिवा खाजा कार्यक्रम सञ्चालन भएको थियो ।
प्राविधिक तथा भौगौलिक कारणले गत बर्षदेखि दिवा खाजा कार्यक्रम लागू हुननसकेका थप ३ वटामा विद्यालय यसबर्ष वडा नं. ९ को शिवालय मावि छेर्मादिंग, वडा नं. ३ को चण्डेश्वरी मावि माझगाउँ र वडा नं. ७ को हिमगंगा मावि रावादोलुमा यसवर्षबाट विद्यालयमा पोषिलो दिवाखाजा खुवाउने कार्यक्रम सुरु गरिएको छ ।
खिजीदेम्बाका विद्यार्थीलाई हरेक दिन पोषणयूक्त दिवा खाजा खुवाउन कल्स ओभर रिजेज नेपालको प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ भने गाउँपालिका र अभिभावकको ५÷५ रुपैयाँ थप गरी ३० रुपैयाँ बराबरको खाजा विद्यार्थीलाई खुवाउन थालिएको छ ।
दिवा खाजाले विद्यालयमा विद्यार्थीको नियमितता बढाउने र दुर्गमका विद्यार्थीलाई भोकका कारण पढाईमा समस्या नपरोस् भन्ने उद्देश्यले विद्यार्थीको सर्वाङगिण विकासमा टेवा पु¥याउन दिवा खाजा कार्यक्रमलाई सहयोग गरिएको कल्स ओभर रिजेज नेपालका अध्यक्ष साङडोमा शेर्पाको भनाई छ ।
खिजीदेम्बाका विद्यालयमा पत्रुखाना प्रतिवन्ध लगाईएको छ, भने स्थानीय उत्पादनका पोषणयुक्त खानालाई प्रोत्साहन गरिएको छ । दिवा खाजा कार्यक्रमका लागि दैनिक फरक–फरक परिकार खुवाउने व्यवस्था मिलाईएको छ ।
विद्यालयमै खाजा खान पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।
भोकले लखतरान परेर जसोतसो विद्यालयमा १०–४ बजाउने विद्यार्थी अहिले रमाई रमाई पढिरहेका छन् ।
दिवा खाजाको व्यवस्था नहुँदा गोजीमा केही पैसा हुनेले चाउचाउ, विष्कुट, चटपटेजस्ता पत्रु खाजा भए पनि खान्थे, पैसा नहुने भोकभोकै हुन्थे । सरकारले साना कक्षाका विद्यार्थीलाई खाजाको व्यवस्था गरेपनि ठुलाकक्षामा पुगेका उस्तै उमेर समुहका विद्यार्थी खाजाको विभेदमा थिए । अहिले सबै विद्यालयमा दिवाखाजाको व्यवस्था भएपछि शिक्षकलाई पनि खाजा खान सहज भएको छ । शिक्षकहरुले पनि विद्यालयमै खाजा खान पाउने व्यवस्था मिलाईएको छ । त्यसका लागि शिक्षकले भने आफैं खाजाको रकम तिर्नुपर्नेछ ।
गाउँपालिकाको शैक्षिण गुणस्तर अभिबृद्धिका लागि दिवा खाजा कार्यक्रम लागू गरेको र यसबाट दक्ष जनशक्ति उत्पादन, विद्यार्थी टिकाउदरमा बृद्धि भई समग्र पालिकाको दीर्घकालिन विकास र दक्ष जनशक्ति विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । दिवा खाजामा स्थानीय जैविक उत्पादनलाई प्रथामिकता दिइने भएकाले कृषकहरुलाई पूर्ण रुपमा लाभ हुने र दिवा खाजाका लागि भएको लगानी समेत स्थानीय अभिभावकहरुमै बाँडफाँड हुने अध्यक्ष शेर्पाको भनाई छ ।
भौगोलिक रुपमा विद्यालयसम्म आउन दैनिक २ घण्टाभन्दा बढी समय धाउनुपर्ने वाध्यात्मक अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बनेको छ ।
खिजीदेम्बाका सबै विद्यार्थीले विद्यालयमै खाजा खान पाएपछि विद्यार्थीको नियमितता बढेको कुण्डली माविका प्रअ नरबहादुर खत्रीको भनाई छ ।
गाउँपालिकाभित्र ३१ वटा विद्यालयमा करीव २ हजार ५ सय बालबालिकाहरु अध्ययनरत छन् ।
जिल्लाका अन्य पालिकामा नेपाल सरकारको नियमानुसार आधारभूत तहका पनि तल्लो कक्षाका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउने गरिएको छ ।
सन् २०१७ मा स्थापित कल्स ओभर रिजेज नेपाल ग्रामिण बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धि कार्यक्रम अन्तर्गत गोरखा, दोलखा र ओखलढुङ्गामा परियोजना सञ्चालन गर्दै आएको छ ।
संस्थाले २०३० सम्ममा सामुदायिक विद्यालयहरूको शिक्षामा गुणस्तर अभिवृद्धि गराई आम अभिभावक र विद्यार्थीको पहिलो रोजाईमा सामुदायिक विद्यालयलाई स्थापित गर्ने लक्ष्य राखेर काम गर्दै आएको छ ।
परियोजनाले विद्यालयहरुमा स्कूल बस, दिवा खाजा र कम्प्युटर तथा अंग्रेजी विषयका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया