गएको चैत ३१ गते लमजुङ बेसीसहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षीया सीता कँडेल मृत अवस्थामा फेला परिन् । आफ्नै घरमा मृत फेला परेकी कँडेल नेपाल प्रहरीकी पूर्वहवल्दार हुन् ।
उनी अवकाशपछिको जीवन घरमा एक्लै बिताइरहेकी थिइन् । लमजुङ प्रहरीले सीताको शव घरमा नै फेला पारेको थियो । उनको घरमा बाहिरबाट ताल्चा लागेको थियो ।
उक्त घरबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । पछि लमजुङ प्रहरीले २०८१ चैत ३१ गते दिउँसो साढे तीन बजे उनी बस्दै आएको घरको ताल्चा फुटाएर हेर्दा उनको शव फेला परेको हो ।
उनको शव देखेपछि अनुसन्धानका लागि खटिएको प्रहरी टोली झस्किएको थियो । लमजुङ प्रहरीका अनुसार, सीताको शव उनी सुत्ने कोठाको पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा थियो ।
त्यस्तो अवस्थामा शव फेला परेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्यो । प्रहरीले हत्याको आशंकामा अनुसन्धान तीब्र पारेको थियो । तर, एक्लै बस्ने सीताको हत्याबारे लमजुङ प्रहरीले खास ‘क्लु’ फेला पार्न सकेन ।
अनि खटियो सीआईबीको टोली
आफ्नै पूर्वसहकर्मीको हत्याको अनुसन्धान गर्न लमजुङ प्रहरीमाथि चौतर्फी दबाब थियो । तर, स्थानीय प्रहरीले सीताको हत्यारासम्म पुग्ने कुनै ‘क्लु’ नपाएपछि अनुसन्धान जटिल हुँदै गयो । लमजुङ प्रहरीले सीताको हत्याको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गर्यो । सीआईबीको टोलीलाई समेत सीताको हत्यारासम्म पुग्न आठ महिना लाग्यो ।
सीआईबीको टोलीले उनको हत्या आरोपमा शुक्रबार चितवन रत्ननगर–०६ का ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको छ । सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक शिव श्रेष्ठका अनुसार, दराईलाई रूपन्देही सिद्धार्थनगर–१ बेलहियाबाट पक्राउ गरिएको हो ।
प्राविधिक विश्लेषण गरी सीआईबीको टोली दराईलाई पक्राउ गर्न सफल भएको हो । थप अनुसन्धान गर्न दराईलाई जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको छ ।
अनुसन्धानमा खटिएका सीआईबीका एक अधिकारीका अनुसार, दराईले हत्यालगत्तै सीताकै मोबाइल फोन समेत आफैँ लिएर हिँडेका थिए । जसकारण प्रहरीलाई प्राविधिक रूपमा अनुसन्धान गर्न गाह्रो परेको थियो ।
हत्यालगत्तै दराई भारत भागेका थिए । लामो समय भारत बसेका उनी केही दिनअघि मात्रै नेपाल फर्किएको सूचनाका आधारमा पक्राउमा परेका हुन् । दराईलाई पक्राउ गर्न प्रहरीलाई सीताले बोकेको मोबाइल नम्बर नै ‘क्लु’ बनेको थियो ।
अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन्, “हत्यारासम्म पुग्ने ठोस प्रमाण हामीसित केही थिएन । सीताले बोकेको मोबाइल पनि घटनास्थलमा फेला परेन । तर, हामीले उनको नम्बरमा सम्पर्क हुने नम्बरको आधारमा अनुसन्धान गरेर अपराधीसम्म पुगेका हौँ । उनले हत्या स्वीकार गरेका छन् ।”
जेलमा भेटिँदा झाङ्गिएको प्रेम बन्यो हत्याको कारण
ती बुद्धिराम दराई महिलाकै हत्याको अभियोगमा दोषी ठहर भएर जेल पुगेका थिए ।
सीआईबी अनुसार, दराईले २०६७ मंसिर १३ गते गोरखा फिनामकी ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए । त्यतिबेला बुद्धिराम दराईले चिनीमायाकी छोरी सम्झना पाण्डेसँग विवाह गर्न खोज्दै थिए । तर, त्यो विवाह रोकेको निहुँमा हत्या गरेका थिए ।
चितवनबाट गोर्खासम्म पुगी बुद्धिरामले चिनीमायाको घाँटी थिचेर हत्या गरेका थिए । घटनालगत्तै पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोर्खाले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।
अदालतको फैसलाअनुसार उनी जन्मकैद काट्न मकवानपुरस्थित भीमफेदी कारागार पुगेका थिए । त्यतिबेला सीता कँडेल प्रहरी हवल्दारका रुपमा कारागार सुरक्षाका लागि भीमफेदीमै खटिएकी थिइन् । सुरुमा बुद्धिराम दराई र सीताबीच कैदी–प्रहरीको सम्बन्ध मात्रै थियो ।
पछि सीता र बुद्धिरामबीच बिस्तारै प्रेम बढ्यो । दैनिक भेटघाटले सम्बन्ध झन् बलियो हुँदै गयो ।
कारागारकै सुरक्षामा खटिएकी प्रहरीसित बुद्धिरामको प्रेम सम्बन्ध बढेपछि जेलको बसाइँ उनका लागि सुखद हुँदै गयो । प्रहरी हवल्दार सीता हत्याका अभियुक्तसित प्रेममा जोडिइन् ।
सीता र बुद्धिराम भीमफेदीमै हुँदा दिनहरू ठिकै बिते । तर, लामो सेवापछि सीता पेन्सनमा गइन् । उनी अवकाश लिएर लमजुङ फर्किइन् । उता, बुद्धिराम दराई जन्मकैद भोग्दै थिए । सीताको अवकाशपछि उनीहरूबीच भेटघाट हुन छाड्यो । आन्तरिक मनमुटाव बढ्दै गयो ।
बुद्धिराम दराईले जेलबाट छुट्न सीतामार्फत सहारा खोजे । तर पाएनन् । उनी संविधान दिवसका दिन कैदी मिनाहा भएर २०७८ मा जेलमुक्त भए ।
तर, जेलमुक्त भएपछि सीता र उनीबीच भेटघाट झन् पातलो हुँदै गयो । मनमुटाव बढेपछि बुद्धिराम दराई चितवनबाट लमजुङ गएर सीताको विभत्स हत्या गरेका खुल्न आएको हो ।

प्रतिक्रिया