रुम्जाटार अस्पतालमा शल्यक्रिया सेवा सुरू


ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारमा पहिलोपटक एपेन्डिक्सको सफल शल्यक्रिया सम्पन्न गरिएको छ । यससँगै स्थानीयस्तरमै शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु भएको अस्पतालले जनाएको छ ।

एमडीजीपी डा. सन्जय पोखरेल कार्यरत भएसँगै अस्पतालमा शल्यक्रिया सेवा सक्रिय भएको हो । उनको नेतृत्वमा एनेस्थेसिया विशेषज्ञ डा. राजेश महरा, ओटी नर्स धना अधिकारी र धना लामा सहितको टोलीले पहिलोपटक एपेन्डिक्स शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रमुख डा. रवि कुमार यादवका अनुसार शल्यक्रिया गरिएकी बिरामीको अवस्था अहिले सामान्य छ । उनले अबका दिनमा पनि सर्जरी सेवालाई नियमित रूपमा निरन्तरता दिने बताए ।

अस्पतालले हाललाई माइनर प्रोसिड्युरदेखि सिस्ट, हाइड्रोसिल, हर्निया, एपेन्डिक्टोमी लगायतका सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

बुधवार, चिशंखुगढी गाउँपालिका–४ की १७ वर्षीया अस्मिता बिकलाई एपेन्डिक्सको समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको रुम्जाटार अस्पतालमै सफल शल्यक्रिया भएपछि परिवार र सरोकारवाला दुवै उत्साहित छन् ।