ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको दाबी गरेका छन् ।
२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबीसमेत गरे ।
मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटाभन्दा बढी राष्ट्रियस्तरका पुरस्कार पाउने गरेको समेत उल्लेख गरे । सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
मेयर महर्जनले भने, “हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर, आमनेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकालीको किन नहोस्, ललितपुर महानगरपालिका भन्नासाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ ।”
यस्तो छ उनको भनाइ
यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईहरुलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरु स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईंले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ, ती सुझाव हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौं । तसर्थ, तपाईंहरूले दिनुभएको सुझाव, गर्नुभएको कन्ट्रिब्युसनको नतिजा हो यो ।
हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटा राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्दै आइरहेका छौँ । अस्तिको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कार पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभूत भइरहेका छौँ, यसका लागि पनि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद भन्न चाहेँ । हामी जे बोल्छौँ, त्यो पूरा गर्छौँं ।

प्रतिक्रिया