सधैँ चर्चामा आइरहने नेपाली फिल्मकी अभिनेत्री पूजा शर्मा यो साता पुनः चर्चामा आएकी छिन् । यसपटक उनी आफ्नै वैवाहिक समारोहका कारण चर्चामा आएकी छिन् । अभिनेत्री शर्माले आफ्ना प्रेमी युद्ध बानियाँसँग अबको चार दिनपछि अर्थात यही मंसिर २० गते लगनगाँठो कस्दैछिन् । प्रेम सम्बन्धमा रहेको छ वर्षपछि उनीहरु एक हुन लागेका हुन् ।
यसैबीच, विवाहको चार दिनअघि अर्थात आज मंसिर १६ गते मंगलवारदेखि भने खुलेरै विवाहको तयारीमा व्यस्त भएको पाइएको छ । उनले आफ्नो विवाहको तयारी प्रारम्भ भैसकेको जानकारी सोसल मीडियामार्फत नै दिएकी छिन् ।
अभिनेत्री शर्माले आफ्नो सोसल मिडियामा ‘रेडि फर फरइभर’ भन्दै विभिन्न तस्विर तथा भिडियोहरु शेयर गरेकी छिन् । ती भिडियोहरुमा उनले आफ्नो सुन्दरतालाई निखार्नका लागि कपाल, नङ, हात, खुट्टालाई अझ आकर्षक बनाउनुका साथै मेकओभर गरिरहेको देख्न सकिन्छ ।
त्यस्तै, यी अभिनेत्रीले आकर्षक गरगहना तथा मेहन्दी रंगको डिजाइनर वेयरमा सजिएर भिडियो बनाएकी छिन् । उक्त पहिरनमा उनी निकै हर्षित देखिन्छिन् । उनले राखेको भिडियोमा उनको पहिरनको रंगसंग मेल खाने रंगको कोट तथा सेतो पाइन्ट लगाएका उनका हुनेवाला श्रीमान् बानियाँको झलकसमेत देख्न सकिन्छ ।
अहिले उनको उक्त भिडियोमा धेरैले वधाइ तथा शुभकामना दिँदै लभको इमोजीसमेत पठाएका छन् । अभिनेत्री पूजा शर्मालाई कलाकर्मी परिवारको तर्फबाट वैवाहिक जीवनको अग्रीम शुभकामना ।

प्रतिक्रिया