एनपीएलमा आज दुई रोचक खेल हुँदै


नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । 

सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थान बनाएको छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । 

सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको, पोखरा एभेन्जर्सविरुद्ध १८ रनको र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यता, लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ । 

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरद्ध नौ विकेटको र तेस्रो खेलमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । 

पहिलो जितको खोजीमा जनकपुर र पोखरा
दोस्रो खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दै छ । जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् । दुवै टिमले यसअघि दुई खेल खेले पनि अझै जितविहीन छन् । 

जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । 

यता, पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो । 

त्रिवि मैदानमै हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।