योजनामा अनिश्चितता : कोशी प्रदेशको ‘पर्यटन वर्ष २०८२’ अन्योलमा


कोशीको गौरव, हिमालको शानः पर्यटन वर्षमा सबैलाई सम्मान ,, यो कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ राखेको नारा हो

सो नारा कार्यान्वयनका लागि कोशी प्रदेश पर्यटन वर्ष २०८२ सञ्चालन गर्न भन्दै सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । सो बजेटबाट पर्यटक भित्र्याउने तयारी वर्षको रूपमा लिएर पूर्वाधार र प्रचारमा जोड दिने प्रदेश सरकारको तयारी थियो, तर सरकारको तयारी निकै सुस्त र फितलो छ । आर्थिक वर्ष सुरु भएको ५ महिना बितिसक्दा पनि ठोस कार्यक्रम र कार्यविधि बन्न सकेको छैन, जसको कारण अभियान नै अन्योलमा परेको सरोकारवाला बताउँछन् ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका अधिकृत पेशलकुमार पौडेलका अनुसार पर्यटन वर्षको तयारी अहिलेसम्म खासै भएको छैन । बजेट कटौतीको हल्ला चले पनि आधिकारिक रूपमा कुनै निर्णय नभएको उनले बताए ।

पौडेलले भने, ‘अहिलेसम्म बजेट कटौती भएको छैन, तर काम पनि केही भएको छैन । मन्त्रालयको व्यवस्थापन र कोठा सर्ने काममै हामी अल्झिएका छौँ । भर्खरैमात्र कोठा व्यवस्थापन भएको छ । जेनजी आन्दोलनले पनि हामीलाई समस्यामा पार्‍यो ।’

पौडेलका अनुसार निर्देशक समितिको एउटा सामान्य बैठक बसे पनि कार्यविधि संशोधन गर्नुपर्ने भएकाले थप प्रक्रिया अघि बढेको छैन । ‘कार्यक्रमहरू ब्रेकडाउन भएका छैनन्, बजेटको टुङ्गो छैन । कार्यविधि संशोधन भएर आएपछि मात्र निर्देशक समितिको बैठक बसेर कार्यक्रम तय गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

एकातिर सरकारी प्रशासनिक ढिलासुस्ती र अर्कोतिर छिमेकी मुलुकमा भएका ‘जेनजी आन्दोलन’ लगायतका घटनाले सिर्जना गरेको सुरक्षा संवेदनशीलताको भ्रमका कारण प्रदेशको पर्यटन क्षेत्र प्रभावित बनेको व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी भविष्य कुमार श्रेष्ठले ‘जेनजी आन्दोलन’पछि भारतीय पर्यटकमा नेपालप्रति नकारात्मक धारणा बनेको बताए ।