३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शन तथा कीर्तिपुर खेलमैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को भीड व्यवस्थापनका लागि काठमाडौं प्रहरीले व्यापक सुरक्षा व्यवस्था गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार करिब ३ हजार सुरक्षाकर्मी सडक तथा सम्भावित संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ। आवश्यक परे उपत्यकास्थित अन्य सुरक्षागण–गुल्मबाट समेत थप फोर्स परिचालन गर्न सकिने गरी तयारी मिलाइएको उनले बताए।

उनका अनुसार, एमाले नेतृत्वले प्रदर्शन शान्तिपूर्ण रहने आश्वासन दिएको भए पनि भीडमा संभावित घुसपैठ तथा त्यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरी उच्च सतर्कतामा छ।

यसैबीच, एनपीएल अन्तर्गत आज हुने दुई खेलमा दर्शकको ठूलो भीड आउने अनुमान गरिएकोले खेलस्थल तथा वरपरको क्षेत्रलाई विशेष सुरक्षा निगरानीमा राखिएको एसपी भट्टराईले जानकारी दिए। भीड व्यवस्थापन र आकस्मिक घटनालाई रोक्न पर्याप्त संख्यामा प्रहरी तैनाथ गरिएको उनले बताए।

एमालेको प्रदर्शनका लागि विभिन्न स्थानबाट जुलुसका रूपमा आउने सहभागीहरू भृकुटीमण्डपमा जम्मा हुने भएकाले काठमाडौं जिल्लाभित्रका सबै प्रहरी युनिटलाई बिहानैदेखि ड्युटीमा खटाइएको प्रहरीले जनाएको छ।