एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा हुने भएको छ । यसको औपचारिक जानकारी पोखरेलले शुक्रबारको एमाले सचिवालय बैठकमा गरेका छन् ।
बैठकमा पोखरेलले आफू अध्यक्षको दाबेदार रहेको जानकारी तेस्रो पटक अध्यक्ष हुन लागेका ओलीलाई गराएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
बैठक स्रोतले भन्यो, ‘बैठकमा अध्यक्षले एक मन र एकताका साथ जाऊँ भनेर भन्नुभयो । उहाँले जनता र कार्यकर्तालाई एकताबद्ध गर्न र पार्टीमा नयाँ सन्देश दिन एक मन र एकताका साथ जाऊँ भन्ने प्रस्ताव गर्नुभयो । ’ बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले त्यसो भनेपछि ईश्वर कमरेडले म पनि उम्मेदवारी दिन इच्छुक छु भन्नुभयो । तयारी त्यसरी गरिरहेको छु । उम्मेदवारी दिन्छु भनेपछि अध्यक्ष छक्क पर्नुभयो ।’
ईश्वरले यसो भनेपछि ओलीले भरसक सोच्न र त्यसो नगर्न आग्रह गरे । उनले एक मन एकताका साथ जाऊँ भनेका थिए । त्यसपछि ईश्वरले एक मन एकताका साथ जाने भए आफूलाई छाडिदिन आग्रह गरे ।
उनले भने, ‘यहाँले दुई कार्यकाल चलाइसक्नु भयो । अरूको पनि पालो आउँछ होला अध्यक्षज्यू । म यो पटक पछि हट्दिनँ योग्य छु अध्यक्ष हुनलाई ।’
त्यसपछि ओलीले आफूले अध्यक्ष नछाड्ने र ईश्वरलाई पनि नरोक्ने बताए । बैठकमा महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुने वातावरण बन्नुपर्ने माग ईश्वरले राखे । ओलीले आफूलाई निर्विकल्प अध्यक्ष छाड्न निकै कोसिस गरेका थिए । तर उनी ईश्वरको अडानले गले ।
‘अस्तिसम्म बाहिर–बाहिर कुरा भएको थियो यो पटक अध्यक्षले म पनि छोड्दिन भन्नुभयो । ईश्वर कमरेड पनि साँच्चै महाधिवेशनमा लड्ने हुनुभयो ।’
बैठकमा सहभागी एमाले एक शीर्ष नेताले भने, ‘ईश्वर कमरेडले त्यसो भनेपछि हामी आशावादी छौँ । पार्टी पुनर्गठित भएर नयाँ ढंगले जानुपर्छ । हामीले त ईश्वर पोखरेललाई नै अगाडि सार्नुपर्छ भनेका छौँ । उत्साहित छौँ ।’
यस अगाडिको बैठकमा ओलीले नेतृत्व छाड्नुपर्ने माग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले गरिसकेका छन् । यस्तै उपाध्यक्ष विष्णु पौडेल पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया