अधिकांश विद्यालयहरूले सरकारबाट स्वीकृत नगरी पाठ्यक्रम तथा पाठ्यपुस्तक पढाएको पाइएको छ। विद्यालयहरूले त्यसरी नियमविपरीत पढाएको पाएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई अनुगमन गर्न निर्देशन दिएको छ।
पाठ्यक्रम विकास केन्द्रको २०८२-७-२८ को पत्रअनुसार शिक्षा ऐन, २०२८ को दफा ८ मा शिक्षा नियमावलीको नियम ३१ मा ‘विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गर्नुपर्छ’ भन्ने व्यवस्था छ।
यस्तो व्यवस्था हुँदाहुँदै कतिपय विद्यालयमा यस व्यवस्थाविपरीत पाठ्यपुस्तक प्रयोग भइरहेका गुनासा केन्द्रमा प्राप्त भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम तथा सामग्री शाखाका शाखा अधिकृत रेणुका अधिकारीले जानकारी दिइन्।
उनका अनुसार कानुनविपरीत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्ने विद्यालयको अनुगमन गरी कानुनविपरीत पाइएमा कारबाही गर्न निर्देशन दिइएको छ।
केन्द्रले मंसिर २ गते पठाएको पत्रमा पनि भनिएको छ, ‘कतिपय विद्यालयमा यस व्यवस्थाविपरीत पाठ्यपुस्तक प्रयोग भइरहेका गुनासा प्राप्त भएको र सो सम्बन्धमा विद्यालयहरूको अनुगमन गर्न गराउन अनुरोध भई आएकाले शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ३७ बमोजिम विद्यालयको अनुगमन गरी कानुनविपरीत पाएमा कारबाही गरी सोको प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमेल ठेगाना [email protected] मा पठाउनुहुन निर्देशानुसार अनुरोध छ।’

प्रतिक्रिया