एमालेको जागरणसभालाई लिएर भएको झडपपछि बाराको सिमराको स्थिति दुई दिनदेखि तनावग्रस्त छ। एमालेको जागरणसभामा आउन लागेका नेताहरूको विरोधमा उत्रिएका प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच बुधबार भएको झडपपछि उत्पन्न तनावपूर्ण स्थितिले दुई दिनदेखि सिमरा अशान्त बनेको हो ।
यसैबीच, बारा सिमरामा कुटपिटमा संलग्न भएको आरोप लागेका एमालेका दुई वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिमरामा जेनजी युवालाई कुट्पिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या तीन पुगेको हो । हिजो साँझ पक्राउ पर्नेमा नेकपा एमाले निकट मानिने अरबिन्द साह रहेका छन् । जेनजी बाराका संयोजक सम्राट उपाध्यायसमेतलाई कुटपिट गर्ने उनी मुख्य आरोपी रहेको जेनजी युवाहरुले दाबी गर्दै आएका छन । यसका साथै हिजो बिहान प्रहरीले पक्राउ गरेका नेकपा एमालेका कार्यकर्ता तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारिलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ । जेन्जी कुट्ने आरोपमा ९ जनामाथि किटानी जाहेरी परेको छ ।
परवानीपुरमा बुधबार एमालेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जहाजमा सिमरा विमानस्थल हुँदै आउने थाहा पाएपछि त्यसको विरोधमा जेन–जीलगायतले प्रदर्शन गरेपछि एमाले कार्यकर्तासँग झडप भएको थियो। त्यसक्रममा ६ जना प्रदर्शनकारी घाइते भएका थिए।
प्रदर्शन रोक्न र संवादमा आउन भन्दै जिल्ला प्रशासनका अधिकारीले जेन–जीका बारा संयोजक सम्राट उपाध्यायसँग पटक–पटक फोन संवाद गरेका छन्। आरोपित थप व्यक्तिलाई पनि पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै संवादका लागि छलफलमा आउन प्रशासनका अधिकारीहरूले आग्रह गरेका हुन्।

प्रतिक्रिया