थुलुङ दुधकोशीमा सातौँ अध्यक्ष रनिङ शिल्ड आजदेखि


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सातौँ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन आज एक भव्य कार्यक्रमका बिच हुँदैछ । गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्ने कार्यक्रमकोसबै तयारी पूरा भएको गाउँपालिकाले जानकारी दिएको छ ।

बिगतका बर्ष झैं यस बर्ष पनि गाउँपालिकाले बिभिन्न खेलकुद प्रतियोगितासँगै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम अन्तर्गत मंसिर ६ गते विशेष आकर्षणका रूपमा सांस्कृतिक साँझ आयोजना हुनेछ । यसमा प्रसिद्ध गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, ‘इन्द्रेणी’का लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल, र चर्चित गायिका बबिना किराँतीले दमदार प्रस्तुति दिनेछन् ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रतियोगितामा महिला तथा पुरुष भलिबल खेलसँगै टेबल टेनिस, व्याडमिन्टन, बृहत् कृषि मेला तथा प्रदर्शनी, र विविध सांगीतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् । उनका अनुसार, “सबै खेल तथा सांस्कृतिक गतिविधिका लागि पूर्ण तयार गरिएको छ ।“

गाउँपालिकाले रनिङ शिल्ड प्रतियोगितालाई स्थानीय खेलकुदको विकास, प्रतिभा पहिचान र सामुदायिक एकता सुदृढ गर्ने माध्यमका रूपमा हेरेको छ ।