औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आह्वान गरेको सूचनामा उल्लेख्य सहभागिता देखिएको छ । प्रतिष्ठानका अनुसार यस्तो कर्जामा उद्यमशीलताको आकर्षण उच्च छ ।
१९ कात्तिकदेखि ९ मंसिरसम्म २१ दिनको समय दिएर परियोजना प्रस्ताव पेस गर्न प्रतिष्ठानले सूचना जारी गरेको थियो । नयाँ ज्ञान, सोच, सिप र क्षमता भएका इच्छुक उद्यमीले ९ मंसिरभित्र अनलाइन वा भौतिक रूपमा प्रतिष्ठानमा उपस्थित भई आफ्नो प्रस्ताव बुझाउन सक्नेछन् ।
विनाधितो ५ वर्षका लागि ३ प्रतिशत ब्याजदरमा उक्त कर्जा दिइने छ । प्रतिष्ठानका सूचना अधिकारी मनिराम गौतमका अनुसार हालसम्म १३ हजार २ सय ७७ जना प्रयोगकर्ता (युजर) सिर्जना भएका छन् । आवेदन प्रक्रिया पूरा गर्नेको संख्या १ हजार ८ सय ६३ पुगेको छ । यो अनलाइनबाट बुझाइएको आवेदन हो ।
भौतिक रूपमा ३ सय जनाले फारम बुझाएका छन् । यस्तै २ हजार ९ सय ६ जनाको आवेदन प्रक्रियामा रहेको उनले बताए । यो तथ्यांक बिहीबार दिउँसो १ बजेसम्मको हो ।
यसपालि ४ सय उद्यमीलाई मात्रै कर्जा दिने लक्ष्य छ । गौतमले गत वर्ष पनि ५ सयको लक्ष्य राखिएकोमा ६ सय ६१ जनालाई सिफारिस गरिएको बताए ।
सरकारले यस वर्ष स्टार्टअप उद्यम कर्जाको अधिकतम सीमा घटाएको छ । बजेट अभावका कारण यस्तो निर्णय गरिएको जनाइएको छ ।
नयाँ ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ अनुसार अब स्टार्टअप उद्यमीले चालु आर्थिक वर्ष २०८२/८३ देखि बढीमा २० लाख रुपैयाँसम्म मात्र कर्जा प्राप्त गर्न सक्नेछन् । यसअघि २०८०/८१ देखि यस्तो कर्जाको सीमा २५ लाख रुपैयाँसम्म थियो ।

प्रतिक्रिया