सरकार र बन्चरेडाँडाका स्थानीय बासिन्दाबीच ११ बुँदे सहमति भएको छ।
बिहीवार सिंहदरबारमा उक्त सहमति भएको हो। सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, इआइए प्रतिवेदन छिटो तयार गर्न कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिबद्धता समेत लिने, आगामी आवको बजेटमा जग्गा अधिकरणका लागि आवश्यक बजेट छुट्याउने सहमति भएको छ।
त्यसैगरी कामपाले १ महिनाभित्र बन्चरेक्षेत्रको अति प्रभावित स्थानीयलाई हालको मूल्यमा घरटहरा तथा बालीको क्षतिपूर्ति दिने निर्णय भएको छ। कोल्पु खोला प्रदूषण तत्काल रोक्न र लिचेटको उचित व्यवस्थापनका लागि १५ दिनभित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण गरी दीर्घकालीन समाधानको बाटो अपनाउने सहमति भएको छ।
त्यसैगरी बन्चरे र सिसडोलको अति प्रभावित क्षेत्रका स्थानीयलाई काठमाडौँ महानगरभित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा निःशुल्क उपचारको व्यवस्था मिलाउने र काठमाडौँ उपत्यकाभित्रका स्कुल, कलेजमा अनिवार्य कोटा दिने सहमति जुटेको छ।

प्रतिक्रिया