बौद्धस्थित पाँचतारे हायत रिजेन्सी होटलले जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीपछि बन्द रहँदै आएको होटल मर्मतका नाममा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ ।
होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पत्र लेख्दै होटलका सबै १३३ मजदुरलाई मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन, २०७४ को दफा १४५ अनुसार बिदा दिने निर्णय गरिएको बताएका छन् ।
पत्रमा उनले भनेका छन्, “भदौ २३ र २४ गतेको आन्दोलनक्रममा आपराधिक समूह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागी गरेपछि होटल पूर्ण रूपमा बन्द भएको छ । आगलागी र क्षतिको कारण मर्मत नगरी पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था छैन ।”
होटलका अनुसार उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीका कारण ज्यान गुमाएका थिए । घटनाको समयमा होटलमा रहेका अन्य विदेशी अतिथिका लगेज र सरसामान समेत लुटिएका थिए, जसले होटलको अन्तरराष्ट्रिय प्रतिष्ठामा नकारात्मक असर पारेको बताइएको छ ।
महाप्रबन्धक कुमारले भनेका छन्, “कोभिड–१९ का कारण लामो समयदेखि होटल तथा पर्यटन क्षेत्र नै संकटमा थियो । सोही बीच भदौ २४ गतेको घटनाले होटललाई पुनः ठूलो आर्थिक क्षति पुर्याएको छ । मर्मतका लागि करोडौँ रुपैयाँ खर्च लाग्ने अनुमान छ र मर्मत अवधिभर कुनै आम्दानी नहुने भएकाले कर्मचारी राख्न असम्भव बनेको छ ।”
होटल व्यवस्थापनले श्रमिक व्यवस्थापनका लागि ट्रेड युनियनसँग छलफल गरे पनि कुनै निष्कर्ष ननिस्केकाले सबै श्रमिकलाई बिदा दिन बाध्य भएको जनाएको छ ।
हायत रिजेन्सी काठमाडौं, जो राजधानीको बौद्ध क्षेत्रमा अवस्थित छ, लामो समयदेखि नेपालको पर्यटन उद्योगको एक प्रमुख प्रतीक मानिँदै आएको थियो । तर हालको घटनापछि होटल पुनः सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।


प्रतिक्रिया