महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्म जयन्तीको पूर्वसन्ध्याको अवसर पारेर विराटनगरमा महाकाव्यकार सोमराज अभयको महाकाव्य “शेषराज दाइ” भव्य समारोहका बीच लोकार्पण भएको छ ।
छन्दवाटिका नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार, समालोचक तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता थियो । छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षता र प्रा. डा. टङ्क न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको लोकार्पण समारोहमा प्राज्ञ विवश पोखरेल, प्रा. डा. मेदिनी शर्मा, प्रा. कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, डा. देवी पन्थी, अग्रज साहित्यकारहरू बलराम पोखरेल, डमरु बल्लभ भण्डारी, कुशेश्वर राई, सरला चापागाईं लगायतको उपस्थिति थियो ।
कृतिको समीक्षा र महत्त्व
विमोचित उक्त कृतिको टिप्पणी समालोचक डा. दिपक न्यौपानेले गरेका थिए । वैचारिक र यथार्थपरक: कृतिको समीक्षा गर्दै डा. न्यौपानेले सोमराज अभयको यो कृति ‘वैचारिक’ र ‘समाजले भोगेको समयको यथार्थको धरातलमा’ आएको बताए ।
भाषाशैली: उनले भाषा शैली परम्परागत भए पनि कृति कथा र विचारका दृष्टिले राम्रो रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै प्रा. डा. हरिहर भण्डारीले कवि सोमराज अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए ।
लोकार्पित महाकाव्य “शेषराज दाइ” मा एघार सर्गहरू समावेश छन् र यो अभयको चौथो महाकाव्य हो । कार्यक्रममा इटहरी, बोलबारी, सुन्दर हरैचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
छन्द वाटिका नेपालले संस्थाको स्थापना भएदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन कार्तिक २७ गतेलाई आधार मानेर विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । यस वर्ष संस्थाले तीन दिवसीय कार्यक्रमको आयोजना गरेको छ। प्रथम दिवसीय कार्यक्रम आज सम्पन्न भएको हो ।

प्रतिक्रिया