सगरमाथा क्षेत्रमा सडक बिस्तार हुँदै, सुर्के–चौरीखर्क सडक ट्र्याकको शिलान्यास

साझा प्रेस
300
Shares

विश्वप्रसिद्ध खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको छ ।

गाउँपालिकाको केन्द्र चौरीखर्कलाई सुर्केसँग जोड्ने ६ किलोमिटर लामो सडक ट्र्याक खोल्ने कार्यको आज (आइतबार) बिहान ९ बजे औपचारिक रूपमा शिलान्यास भएको छ । सुर्केमा आयोजित शिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यता र वडा नं. २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भयो ।

पालिकाकै बजेट

‘ङीम दोर्जी पर्यटक सडक (सुर्के–नासाग्राह–मुसे–चौरीखर्क)’ नाम दिइएको यो योजनाका लागि कुल लागत रु. ८ करोड ५९ लाख ३१ हजार ६ सय ८१ तोकिएको छ । वडा अध्यक्ष आङ फुर्वा शेर्पाले यो योजनाको बजेट खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाटै विनियोजन गरिएको जनाएका छन् ।वडा अध्यक्ष शेर्पाका अनुसार, उक्त बाटो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

हालसम्म सडक सुर्केसम्म मात्र पुगेकोमा अब यो सडक गाउँपालिकाको केन्द्र चौरीखर्कसम्म जोडिने उनले बताए । सडक खन्ने काम आजबाट नै सुरु भएको छ ।

कठिन भू–भागमा चुनौती

गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यस सडक निर्माणले स्थानीय आवतजावत, पर्यटन प्रवर्द्धन र आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । तर, सडक निर्माणका क्रममा धेरै चट्टान र कठिन भू–भाग पर्ने भएकाले केही चुनौतीहरू रहेको वडा अध्यक्ष शेर्पाले भने ।

यो सडक सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रमा पर्यटन र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।