सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-मुक्लिमा मंसिर ५ गतेदेखि तीन दिने भव्य महोत्सवको तयारी भएको छ ।
गाउँपालिकाको आयोजनामा हुन लागेको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको विशेष साँस्कृतिक साँझमा ख्यातिप्राप्त गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड, ‘इन्द्रेणी’ कार्यक्रमका लोकप्रिय सञ्चालक तथा लोकगायक कृष्ण कँडेल र विश्व किर्तिमानी गायिका बबिना किराँतीको दमदार प्रस्तुति रहने भएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले मंसिर ५, ६ र ७ गतेसम्म बृहत गाउँपालिका महोत्सव गर्ने निर्णय गरेको हो ।
साँस्कृतिक साँझमा थप आकर्षण
महोत्सवको दोस्रो दिन मंसिर ६ गते साँझ पनि विशेष साँस्कृतिक कार्यक्रम हुनेछ। यस दिन ‘भोइस अफ नेपाल सिजन ५’ का फाइनलिस्ट कुमार प्रयास, स्थानीय कलाकारहरू कृष्ण राई, हास्यकलाकार विनोद बाबु भण्डारी, सुविध्या राई, महेश बाबु सुन्दास् लगायतले आफ्नो प्रस्तुति दिनेछन् ।
खेलकुद र कृषि मेला पनि समावेश
यस महोत्सवमा मनोरञ्जनका साथै खेलकुद र कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता दिइएको छ। ६ नं. वडा अध्यक्ष एवं साँस्कृतिक कार्यक्रम संयोजक महेन्द्रदीप राईका अनुसार, महोत्सवमा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबल टेनिस, ब्याडमिन्टन लगायतका प्रतियोगिताहरू हुनेछन्।
यसका साथै, वृहत् कृषि मेला तथा प्रदर्शनी, स्थानीय समुदाय विशेष खानाको परिकार (इस्टल) लगायतका कार्यक्रमहरू पनि समावेश गरिनेछ।
पर्यटन प्रवद्र्धनमा जोड
गाउँपालिकाले यस वर्षको महोत्सवलाई खेलकुद, कला–संस्कृति र आन्तरिक पर्यटन प्रवद्र्धनको दृष्टिले ऐतिहासिक बनाउने तयारी गरेको छ। संयोजक राईका अनुसार, खेलकुदको विकास, खेलाडीको प्रोत्साहन, स्थानीय कला र कलाकारको सम्मान, र रैथाने कृषीजन्य उत्पादनलाई हौसला बढाउन उचित पुरस्कारको व्यवस्था समेत गरिएको छ।
कार्यक्रमको तयारी तथा व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा तयारी समिति पनि गठन गरिएको छ।

प्रतिक्रिया