थुलुङ दुधकोशीमा चारदिने निःशुल्क स्वास्थ्य शिविर सुरु

साझा प्रेस
1k
Shares

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

गाउँपालिकाको समन्वयमा र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा सञ्चालनमा आएको चारदिने शिविर शनिबारदेखि सुरु भएको हो । गाउँपालिकाको मुक्लास्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा जारी शिविर आगामी कार्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिनमै ३ सय ५४ जना स्थानीयवासीले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिए । शिविरमा स्त्रीरोग, आँखाको परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार र आवश्यक परे दाँत झिक्ने सेवा, रगत, पिसाब, मुटुको ईसीजी र भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ।

साथै, उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण भइरहेको छ । शिविरको पहिलो दिन गाउँपालिका अध्यक्ष असिम राईले अनुगमन गरेका छन्। उनले यस्तो स्वास्थ्य शिविर ग्रामीण भेगका बासिन्दाका लागि निकै उपयोगी भएको भन्दै आयोजनाप्रति धन्यवाद व्यक्त गरे।

शिविरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको गाउँपालिकाले जनाएको छ।